गृहपृष्ठ थ्रोट स्वाबका नमूना प्रयोगशालामै थन्किए
थ्रोट स्वाबका नमूना प्रयोगशालामै थन्किए
कोरोना संक्रमणको जोखिम बढे पनि प्रयोगशालाको क्षमतामा वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड- १९ परीक्षणका लागि संकलन गरिएका करिब ८ सय जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन् ।
स्थानीय तह आफैंले भीटीएम किट खरीद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन् । क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षणका लागि आएपछि भएका प्राविधिक जनशक्तिले नभ्याएको बताइएको छ । मंगलबारसम्म आएका ८ सय बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्ने तर त्यो बेलासम्म योभन्दा बढी थप नमूना आउने जनाइएको छ ।
कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए । तर, प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको उनको भनाइ छ ।
उपलब्ध उपकरण र प्राविधकबाट परीक्षण गर्न ढिलो हुँदासम्म प्रदेश सरकार जनशक्ति र उपकरण थप्नेतर्फ ध्यान दिएको छैन । सुदूरपश्चिमका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले तीनवटा पीसीआर मेसिन र २० ओटा भेन्टिलेटर खरीदका लागि टेन्डर भइसकेको बताएका छन् । हाल थ्रोट स्वाब नमूना संकलन तीव्र भए पनि परीक्षण सुस्त रहेको स्वास्थ्य निर्देशक अवस्थीले स्वीकारे । धनगढीमा एउटै प्रयोगशाला र त्यसमा आवश्यक कर्मचारीसमेत अभावका कारण परीक्षणले तीव्रता पाउन नसकेको उनको भनाइ छ । परीक्षणलाई बढाउन थप प्रयोगशाला राख्ने तथा आवश्यक जनशक्ति पूर्ति गर्ने विषयमा निर्देशनालय केन्द्रित भएको उनले जानकारी दिए ।
प्रदेश सरकारले प्रदेशका पाँच ठाउँमा प्रयोगशाला स्थापना गरेर परीक्षणलाई तीव्रता दिने निर्णय गरे पनि हालसम्म संघीय सरकारले स्थापना गरेको प्रयोगशालाबाट मात्रै परीक्षण भइरहेको छ । बाह्य मुलुकबाट हुलका हुल नागरिकहरु भित्रिएर प्रदेशका क्वारेन्टाइन पनि भरिभराउ छन् । तर परीक्षणका लागि प्रयोगशाला अभावमा संकलन भएका नमूना पनि थन्किएका छन् ।
प्रकाशित समय : ०४:०६ बजे




















