गृहपृष्ठ विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीको छलफल : लकडाउन खुकुलो बनाउन सुझाव
विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीको छलफल : लकडाउन खुकुलो बनाउन सुझाव
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र लकडाउनको मोडालिटी लगायतको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ तथा सरोकारवालाहरुबाट रायसुझाव लिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञ तथा सरोकारवालाहरुसँग बालुवाटारमा करिब ५ घण्टा छलफल गरेका थिए ।
प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? यदि पार्ने हो भने कसरी पार्न सकिन्छ ? भनेर सुझाव लिएका थिए । यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् ।
छलफलमा सहभागी अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । सुरक्षा विधि अपनाउँदै अत्यावश्यक सेवाका साथै अन्य खुद्रा पसल, निजी सवारी सधान सञ्चालन गर्न, क्वारेन्टाइनको अवस्था सुधार गर्न, निजी अस्पतालमा पनि कोरोना परिक्षणको अनुमति दिन पनि आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागीहरूले बताएका छन् ।
सो क्रममा जनस्वास्थ्य, आर्थिक क्षेत्र र अन्य सरोकारवाला निकायका २५ जना विज्ञले कोरोना भाइरससँग जुध्दै जनजीवन कसरी सहज पार्दै लैजाने भन्ने विषयमा प्रधानमन्त्री ओलीलाई रायसुझाव दिएका थिए । लामो लकडाउनका वावजुद कोरोनाकाे संक्रमण दर नरोकिएपछि सरकारमाथि लकडाउन खुकुलो बनाउनु पर्ने दबाव पनि बढ्दै गएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले देशमा स्वास्थ्य संकटकाल लागू गर्ने तयारी गरेको छ । सरकारले लकडाउन गरेको ७२ दिन पुगिसकेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल नेतृत्वको कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्यव समितिले पनि लकडाउनको मोडालिटीमा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेको छ ।
नेपालमा बुधबार मात्रै २०१ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेकाे छ । हालसम्म कोरोनाकै कारण नाै जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय : ०४:४३ बजे




















