काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘फोकल्यान्ड टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ’

5.37K
shares

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक हुन् ।

नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार भोजपुरबाटै विजयी भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा २९ वर्षको उमेरमा नै संविधानसभा सदस्यमा निर्वाचित भएका किराती संविधान निर्माणमा सक्रिय सहभागी भए । प्रतिनिधिसभा सदस्य भए पनि नियमित भोजपुर पुग्ने र जनतासँग घुलमिल गर्ने उनको स्वभावलाई धेरैले मन पराएका छन् ।

माओवादी आन्दोलनका क्रममा नौ वर्ष भूमिगत भएका किराती जनशैली पछ्याउने थोरै नेतामध्ये एक हुन् । पूर्वेली लवजमा बोल्ने, जनताले जे खोज्छ त्यस्तै रुपमा प्रस्तुत हुने किरातीको स्वभाव आफैँमा अनुकरणीय रहेको माओवादीका नेता तथा कार्यकर्ताहरू बताउँछन् ।

२०६१ सालबाट २०६३ सम्म २३ महिना बन्दी जीवन बिताएका किरातीले २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । हर्कबहादुर राई र माताको नाम रक्षाकुमारीको सुपुत्रका रुपमा २०३५ फागुन २२ गते भोजपुरको ओख्रेमा जन्मिएका हुन् किराती । २०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका  उनको शैक्षिक योग्यता भने विद्यालय तह बराबर छ ।

मन्त्री बन्ने भएपछि उनले आज आफ्ना पिता हर्कबहादुरसँग गरेकाे भावनात्मक संवाद सार्वजनिक गरेका छन् । किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए । ‘डाँडाको जुन घाम’जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै किरातीले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन् ।

मन्त्री किराती र उनका बुवाबीच भएको संवाद जस्ताका त्यस्तै :

फोकल्यान्डको टापुको लडाइँबाट बचेर आएको यही दिन देख्न रहेछ भन्दै हर्कबहादुरले खुसी व्यक्त गर्नुभएको छ । पिताले मन्त्री बनेको पत्याउनु भएको छैन र सुदनलाई सोध्नुहुन्छ, ‘हँ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?’

डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी

मैले भने, ‘बुबा म मन्त्री हुने भएँ छु ।’

बुबाः ‘हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?’

म: ‘हो बुबा साँच्चै हो बिपना नै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।’

बुबाः ‘मन्त्री चाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?’

मः ‘पहिलो त तपाईंहरुले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरेँ, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।’

बुबाः ‘राम राम राम… म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थेँ ।’

मः ‘म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो ।’

बुबाः ‘हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौँ राम्रो गर्नु ।’

मः ‘पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसँगै हुन पाएको भए ।’

बुबाः ‘म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनिदिउँला ।’ बुबा रुनु भो

म : ‘सम्झे बुबाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।’