गृहपृष्ठ सुनीलबाबु खड्का नेतृत्वको एनआरएनए युकेले आईसीसीमा पायो मान्यता, सदस्यता वितरणको ढोका खुल्यो
सुनीलबाबु खड्का नेतृत्वको एनआरएनए युकेले आईसीसीमा पायो मान्यता, सदस्यता वितरणको ढोका खुल्यो
गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनआरएनए युकेको विशेष साधारण सभाले गरेको निर्णयलाई अनुमोदन गरेको छ । प्रवक्ता शशांक शर्माका अनुसार गत १८ अक्टोवर २०२२ मा लण्डनको ह्यारोमा भएको विशेष साधारण सभाको निर्णयलाई परिषद्ले अनुमोदन गरेको हो ।
उक्त साधारण सभाले सुनिलबाबु खड्कालाई गैर आवासीय नेपाली संघ युकेको अध्यक्षमा मनोनयन गरेको थियो ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीकी कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा ४ जनवरी २०२३ मा बसेको अन्तर्राष्टिय सचिवालयको बैठकले विशेष साधारण सभाको निर्णयलाई मान्यता दिने निर्णय गर्दै खड्काको अध्यक्षतामा रहेको गैर आवासीय नेपाली संघ युकेको कार्यसमिति आधिकारिक भएको प्रमाणित गरेको छ ।
गत १३ सेप्टेम्बर २०२२ आईसीसीले विशेष निर्णय लिँदै संघको विधान विपरित संघको प्रतिष्ठामा आँच आउने गतिविधिमा संलग्न भएका गैर आवासीय नेपाली संघ युकेका तल्कालिन अध्यक्ष प्रेम गाहा मगरलाई पद मुक्त भएको जानकारी गराएको थियो । यस अगाडी एनआरएनए युकेको कार्य समितिको बहुमतले विधानको धारा ४१ अनुसार कारबाही गरी आईसीसीलाई जानकारी गराएको थियो । सचिवालयको बैठकमा यी लगायत बेलायतको मामलामा अध्ययन गर्न गठित बिशेष समितिको प्रतिवेदनमाथि समेत छलफल भएको थियो ।
बेलायतको एनसीसीको सन्दर्भमा आईसीसीको १३ सेप्टेम्बरको पत्र अनुसार १८ अक्टोबरमा विशेष अधिबेशन सम्पन्न गरिएको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद्को गत बुधबारको निर्णयले गैर आवासीय नेपाली संघ युकेमा रहेको अन्यौल समाप्त भएको छ भने सुनिलबाबु खड्काको अध्यक्षतामा रहेको कार्यसमितिले पूर्ण आधिकारिकता पाएको छ ।
आईसीसीकी अध्यक्ष रविना थापाले लिएको यस निर्णयले आगामी ११ औं महाधिवेशन पहिले गैर आवासीय नेपाली संघ युकेको सदस्यता वितरण सम्बन्धी अन्यौल पनि समाप्त भएको छ । संघको केन्द्रीय विधान र एनसीसी युकेको विधान अनुसार सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितिलाई केन्द्रीय एमआइएस सिस्टममार्फत सदस्यता वितरण गर्न आईसीसीले अनुमति दिएको छ ।
सोही अनुसार एनआरएनए युकेले आगामी ८ जनवरी २०२३ देखि केन्द्रीय एमआईएस सिस्टममार्फत सदस्यता आवेदन खुल्ला गर्न लागेको बुभिएको छ ।
गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनको लागि संघका राष्ट्रिय समितिहरुमा निर्वाचनको रौनक सुरु भएको छ । एनआरएनए यूकेले समेत आगामी जुलाई महिनामा संघको नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १५:३४ बजे



















