गृहपृष्ठ उच्चस्तरीय समितिले बनाएको कार्ययोजनाअनुसार लकडाउनको मोडालिटी परिवर्तन हुने
उच्चस्तरीय समितिले बनाएको कार्ययोजनाअनुसार लकडाउनको मोडालिटी परिवर्तन हुने
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्काे बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल मात्रै भएको छ । अबेरसम्म छलफल भए पनि बैठकले ठोस निर्णय भने गरेको छैन ।
कोभिड- १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले मापदण्ड तयार गरेपछि मात्र लकडाउनको मोडालिटी परिवर्तन गर्ने बैठकले निर्णय गरेको छ । समितिले के, कसरी र कुन तरिकाले लकडाउन खुकुलो बनाउने भन्नेबारे कार्ययोजना बनाउने सोही आधारमा आगामी मन्त्रिपरिषद बैठकले थप निर्णय गर्ने तय भएको एक मन्त्रीले बताए ।
कोरोना संक्रमण देखिएपछि यसको नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता लकडाउनको म्याद पटक-पटक थप हुँदै आएको छ । पछिल्लोपटक आगामी जेठ ३२ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ ।
लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत नकारात्मक असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सरकारमाथि चौतर्फी दबाव छ । व्यापारीहरूले समेत लकडाउनको अवज्ञा गर्दै पसल खोल्न थालिसकेका छन् ।
लकडाउनको मोडालिटी परिवर्तनबारे बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरु र सरोकारवालाहरूसँग ५ घण्टा छलफल गरेका थिए । छलफलमा सहभागीहरूले लकडाउनका विभिन्न स्वरूपबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रकाशित समय : ०३:२९ बजे



















