गृहपृष्ठ एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सुनिश्चित गर्न विधेयक दर्ता
एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सुनिश्चित गर्न विधेयक दर्ता
सरकारले त्रुटिपूर्ण सामाजिक सुरक्षा ऐन २०७५ मा संशोधनका लागि प्रक्रिया अगाडि नबढाएपछि संसदमा गैर सरकारी विधेयकका रुपमा संशोधन दर्ता भएको छ ।
राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले त्रुटिपूर्ण सामाजिक सुरक्षा ऐनका कारण अति अशक्त अपांगता भएका व्यक्ति र ६० वर्ष नपुगेका एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्दै संशोधन दर्ता गरेका हुन् ।
बजेटमा सबै वर्गले पाउने सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने उल्लेख भए पनि सामाजिक सुरक्षा ऐन २०७५ र त्यसको नियमावली २०७६ का कारण पुनः रोकिने अवस्था भएकाले ऐनमा सुधारका लागि प्रस्ताव दर्ता गरिएको सांसद पन्थले बताए ।
‘एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता ऐनमा नै व्यवस्था गर्नका लागि सामाजिक सुरक्षा ऐन, २०७५ संशोधनका लागि राष्ट्रिय सभामा प्राइभेट बिल दर्ता गरेको हुँ,’ उनले भने ।
देशका ८० हजार अतिअशक्त अपांगता भएका र साढे ३ लाख एकल महिलाको पक्षमा दर्ता गरिएको यो संशोधन पारित गर्न सरकार र सबै दलको सहयोग हुनुपर्ने उनको भनाइ छ ।
प्रस्ताव दर्ता गर्दै उनले भनेका छन्, ‘नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद सचिवालयमा गैर सरकारी विधेयक दर्ता गरिएको छ । राष्ट्रिय सभा सदस्यको हैसियतमा मैले उक्त विधेयक आज २०७७ जेठ २२ गते संसद सचिवालय, सिहंदरवारमा दर्ता गराएको छु ।’



प्रकाशित समय : १५:३६ बजे




















