दोहोरो अंकले घट्यो नेप्से, कुन कम्पनीले कति गुमाए ?
वि.सं.२०७९ मंसिर २९ बिहीवार १५:३६
shares

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ०.७६ प्रतिशत अर्थात १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा झरेकाे छ ।
आज कारोबार रकममा भने बढेकाे छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ पुगेको छ । यस दिन २५४ वटा धितोपत्रको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.२८ प्रतिशत, अन्य समूहको परिसूचक १.१५ प्रतिशत, जीवन बिमा समूहको परिसूचक १.११ प्रतिशत, जलविद्युत समूहको परिसूचक १.०६ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतका दरले घटेको छ ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रपावर रहेको छ । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४३ रुपैयाँमा झरेको छ । त्यस्तै, नबिल ब्यालेन्स्ड फण्डको इकाइ मूल्य ७.२३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५७ पैसामा बन्द भएको छ ।
बिहीबार सर्वाधिक सेयर खरिदबिक्री एनसीसी बैंकको संस्थापक सेयरको भएको छ । उक्त कम्पनीको ११९ रुपैयाँ ३८ पैसामा २२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ । उक्त कम्पनीको ५२० रुपैयाँमा ९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

























