रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै
वि.सं.२०७९ मंसिर २८ बुधवार १६:१३
shares

स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो, जुन भारतमा एकदमै रुचाइएको छ ।
यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो फाइभजी नाम दिइएको यो स्मार्ट फोनको कर्भ्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।
यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो, जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ । यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ त नै, साथै यसको कलर गेमुट पनि उत्तिकै वाइड छ (एक करोडभन्दा माथि) । एचडीआर १० प्लस सर्टिफाइड भएकोले यसमा मज्जाले एचडीआर कन्टेन्टहरु हेर्न सकिन्छ ।
त्यस्तै रियलमी १० प्लस प्रो फाइभजीलाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ, जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभजी ड्रप रेसिस्टान्ट पनि छ ।
१०८० को मिडिया टेक डाइमेन्सिटी सीपीयू भएको यस रियलमी १० प्रो प्लस फाइभजीमा गेमर्सहरुको लागि विशेष गरी फोरडी गेम भाइब्रेसन मोटर पनि राखिएको छ । सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ ।
यसमा १०८ एमपीको मेन सेन्सरलगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाटसम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ ।


























