काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउवाविरुद्ध गगनको गणित, संसदीय दलमा कति बलियो ?

10.06K
shares

नेपाली काँग्रेसको पार्टी विधान अनुसार संसदीय दलमा निर्वाचित नेता नै प्रधानमन्त्रीको उम्मेदवार हो । जसको दौडमा अहिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रमुख दाबेदारका रुपमा अघि आएका छन् ।

नेपाली काँग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै भएपनि मुख्य प्रतिस्पर्धा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र महामन्त्री थापाबीच हुने पक्काजस्तै छ । संसदीय दलको नेता बन्न ५१ प्रतिशत ल्याउनुपर्छ । सर्वसम्मत रुपले नेता चयन गर्ने प्रक्रिया पनि अर्काे विकल्प हो । तर निर्वाचनमा जानुअघि नै महामन्त्री थापाले परिणाम जेसुकै आओस्, दलको चुनाव लड्ने घोषणा गरेपछि अब सहमतिको सम्भावना लगभग अन्त्य भएको छ ।

तर प्रत्यक्षबाट निर्वाचित र समानुपातिक सूचीबाट आउने सम्भावित सांसदको अंकगणित हेर्दा संस्थापन इतरको नेतृत्व गरेका शेखर–गगनको समूहभन्दा सभापति देउवाकै पक्षमा स्पष्ट बहुमत देखिन्छ । त्यसमा पनि यो समूहबाट शेखर–गगन दुबैजना प्रधानमन्त्रीका आकांक्षी छन् । कसले कसलाई छोड्ने भन्नेमै सहमति जुटेको छैन । अझ गगनको दाबीबाट शेखर खुशी नभएको विषय पनि सार्वजनिक भएको छ । यसर्थ शेखरको समर्थन पाउनेमा शंका छ ।

गगनको पक्षमा कति सांसद ?

संस्थापनइतरबाट शेखर र गगन दुबैको दाबी भएपनि उनीहरुबीच सहमति हुने र अन्तिममा गगन नै एकल उम्मेदवार बन्ने सम्भावना बलियो रहेको नेताहरु बताउँछन् । यसो हुँदा हालको अंकगणित अनुसार गगनको पक्षमा ३१ जना सांसद खुल्ने सम्भावना छ । देउवाको पक्षमा ५८ जना सांसदहरु उभिने भएपछि स्वतः उनी विजयी हुनेछन् ।

गगनको आवश्यकता र व्यक्तिगत प्रभावकै कारण केही सांसद थपिने सम्भावनालाई पनि नजिकबाट हेरिएको छ । यसका लागि उनी निकै ठूलो दौडधुप चलाइरहेका छन् । उनको प्रस्तावक बन्ने घोषणा गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि बहुमत जुटाउन लागिपरेका छन् । जबकि पार्टीको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंह समूहबाट लडेका उनी अहिले सिंह देउवातिर उभिदा आफु गगनको प्रस्तावक बन्ने घोषणा गरेका छन् । यसो हुँदा सिंहसँग रहेका सात सांसदले गगनलाई समर्थन दिने छैनन् ।

रामचन्द्र–शशांक र निधि कता ?

अब महाधिवेशनका बेला न्यूटल बसेका रामचन्द्र पौडेल र शशांक कोइरालाको भूमिकाले पनि अर्थ राख्ने छ । उनीहरु आफै आकांक्षी रहेपनि अन्तिममा देउवाकै समर्थनमा उभिने पक्का जस्तै छ । देउवाले शशांकलाई बालुवाटार बोलाएर संसदीय दलमा सहयोग गर्न आग्रह नै गरिसकेका छन् । शशांकले पनि ‘विचार गरौंला’ भनेर जवाफ दिएका छन् । महाधिवेशनमा देउवाविरुद्धै सभापति लडेका विमलेन्द्र निधिको दौडधुप सीके राउतलाई गठबन्धनमा सामेल बनाएर बहुमत पु¥याउनेदेखि पार्टीभित्र कित्ता बलियो बनाउनेसम्म केन्द्रीत छ । किनकि देउवाले मधेशी कोटाबाट निधिको नाम एक नम्बरमा सिफारिस गरेका छन् । आफ्नै गुम्ने डरले उनी देउवाका विरुद्ध जाने सम्भावना छैन । उपसभापति पूर्णबहादुर खड्कालगायतको सक्रियताले देउवालाई सहज बनाइरहेको छ ।

सिटौलाको शंका !

देउवासँग सानो हिस्सा लिएर समर्थन जनाउँदै आएका कृष्णप्रसाद सिटौंला आफु पराजित भएका छन् । उनको समूहका भीमसेनदास प्रधान, उमाकान्त चौधरी र शिव हुमागाईँ गुटकै शिकार भएर हारेका छन् ।

यो समूहबाट प्रदीप पौडेलमात्रै निर्वाचित भएका छन् । गगनकै समर्थन पाएर निर्वाचन जितेको चर्चाका बीच युवाहरु एकठाउँमा उभिनुपर्ने दबाबमा प्रदीप छन् । यसैकारण प्रदीप विचलित हुन्छन् कि भन्ने शंका सिटौलामा छ । तर सिटौलाकै आरक्षणमा पार्टीको महामन्त्री र सांसदको टिकट पाएका प्रदीपलाई लाइन क्रस गर्न त्यति सहज छैन । देउवा प्रधानमन्त्री भए, सिटौला समूहबाट उनी मन्त्री बन्ने एकमात्र बलिया उम्मेदवार हुन् । यसर्थ उनको समर्थन पनि देउवातिरै हुनेछ ।

फलतः व्यवहारिक रुपमा बलिया देखिएपनि अंकगणितमा कमजोर रहेका गगनले कुनै चमत्कारिक अवस्थाबाहेक संसदीय दलको चुनाव जित्ने सम्भावना कम देखिन्छ ।

कुनै चमत्कार ?

कुनै ‘मिराकल’ भएन भने प्रधानमन्त्रीका दाबेदार देउवा संसदीय दलको नेता बन्ने निश्चित छ । तर दुबै महामन्त्री र युवा पुस्ताको आशा पनि गगनसँग जोडिएकाले विकल्प फेर्नुपर्ने आवाज बलियो छ ।

मतदान गोप्य नै हुने भएकाले संस्थापनभित्रैबाट विद्रोह नहोला भन्न पनि सकिन्न । तर गगनको उम्मेदवारी प्रस्तावका हिसावले सुखद भएपनि अंकगणितका हिसावले सहज छैन । तथापी गगनले चुनाव हारेपनि जितेपनि, नेपाली काँग्रेसभित्र जमेर बसेको संस्थापन मनोविज्ञानलाई आइसब्रेक गर्नेछ ।