nmb bank

गृहपृष्ठ प्रचण्डको पकडमा सत्ता !

प्रचण्डको पकडमा सत्ता !

प्रचण्डको पकडमा सत्ता !

संसदीय अंकगणित अनुसार फेरि पनि सत्ताको निर्णायक नेकपा माओवादी केन्द्र बनेको छ । माओवादी नभइ सरकार बन्ने अवस्था त छ, सम्भव छैन । ठिक यसैबेला प्रचण्ड गठबन्धनमा खेल्न थालेका छन् । अब देउवा प्रधानमन्त्री कि प्रचण्ड ? वा ओली ? अहिले यीनै विषय सतहमा छन् ।

सत्तामा सीके राउत जाने सहमतिसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले सरकार बनाउन चाहिने १३८ बहुमत संख्या पुर्‍याएको छ । नेपाली काँग्रेसको ८९, माओवादीको ३२, समाजवादीको १०, लोसपाको ४ र जनमोर्चाको १ गरि जोहो भएको १३३ संख्यामा सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सिट थपिदिएपछि संसदको २७५ मध्ये बहुमतका लागि चाहिने १३८ जुटेको छ ।

अब किन्तुपरन्तुबाहेक सरकार बनाउन चाहिने अंकगणित पुरापुर भएको छ । तर यतिबेलै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निउँ खोज्न थालेका छन् । प्रधानमन्त्री आलोपालो हुनुपर्ने र त्यसको पहिलो नेतृत्व आफैले गर्नुपर्ने दाबी सार्वजनिक भएपछि गठबन्धनको गठजोड पुनः एकपटक संकटमा परेको छ । किनकि नेपाली काँग्रेसले समेत आफैले बहुमत जुटाएको र अबको प्रधानमन्त्री देउवा नै हुने दाबीलाई झन झन बलियो बनाइरहेको छ ।

‘सत्ता गठबन्धनको नेतृत्व आदरनीय अध्यक्ष देउवाले गर्नुभएको छ ।, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने, ‘स्वतः सरकारको नेतृत्व गर्ने पनि उहाँले नै हो ।’

संसद विघटनपछि केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेर आफ्नै बलमा देउवाको सत्तारोहण सम्भव भएको दाबीसहित प्रचण्डले आलोपालो नै भएपनि पहिलो ‘इनिङ’ आफ्नै हुनुपर्ने दाबी निकटस्थहरुलाई सुनाइरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै तजबिजमा मोलमोलाईको अस्त्र बनाएर प्रयोग गर्ने तयारीसमेत प्रचण्डको छ ।

प्रचण्डको उपयोग हुन माधव नेपाल पनि तयार नै देखिन्छन् । तर प्रदेशका मुख्यमन्त्रीसहित संवैधानिक पदहरुमा प्याकेजसहितको डिल हुनुपर्ने माधवको अडान छ । यद्यपी समानुपातिकमा थ्रेसहोल्ड नकटाएको समाजवादी र जम्मा ३२ सिटमा खुम्चिएर हैसियत गुमाएको माओवादीलाई सत्ताको साँचो बुझाईहाल्ने मनस्थितीमा देउवा छैनन् । यसले गठबन्धनको सम्बन्धविच्छेद कुरी बसेका एमाले अध्यक्ष केपी ओली मौका मिल्ने वित्तिकै जाल हान्ने दाउमा छन् । किनकि देउवा–प्रचण्डबीच प्रधानमन्त्रीका विषयमा सहमति भंग भए एमालेको नेतृत्वमा अर्काे समीकरण बन्ने सम्भावना पनि छ ।

सत्ताका लागि निर्णायक बन्ने दाबी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको भाउसमेत सीके राउत सरकारमा जाने भएपछि घटेको छ । अब पहिलो र दोस्रो शक्तिले सरकार बनाउने अवस्था नभए तेस्रो शक्तिका रुपमा रहेको माओवादीकै नेतृत्वमा सरकार नबन्ला भन्न पनि सकिन्न । किनकि विगतमा पनि तेस्रो शक्तिले सरकार चलाएको अभ्यास छ ।

तर काँग्रेसलाई ठूलो बनाउने गरि गठबन्धन गरेको माओवादीले चुनावमा निराशाजनक मतपरिणाम ल्याएपछि आम कार्यकर्तामा उत्साह छैन । देउवाले धेरै दिन नचाहेको र पार्टी कमजोर धरातलमाथि उभिएका बेला नेता कार्यकर्ताले प्रतिपक्षमै बस्न सुझाएका छन् । तर प्रचण्ड हुन्, सत्तामा पुग्नैपर्ने खौसोले छोएपछि देउवालाई दबाब दिएरै, नभए ओलीसँग लिएरै सत्तामा जाने ताल मिलाइरहेका छन् ।

यदि फेरि पनि माओवादीको अंक निर्णायक बनाएर सत्ता बार्गेनिङको हतियार बनाएको खण्डमा देश अस्थिरतामा जाने छ भने प्रचण्ड पुनः राष्ट्रिय समस्या बन्नेछन् ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु