गृहपृष्ठ रोहितको डेब्यु कप्तानी बिर्सनलायक, नामिबिया जानुअघि परीक्षण
रोहितको डेब्यु कप्तानी बिर्सनलायक, नामिबिया जानुअघि परीक्षण
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे ।
तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन ।
तीन खेल शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनको फराकिलो अन्तरले पराजित भयो । जितपछि युएईले शृंखलामा अग्रता बनायो ।
रोहित मात्र होइन युएईका सीपी रिजवानले पनि ओडीआईमा कप्तानी डेब्यु यसै खेलबाट गरे । उनले अष्ट्रेलियामा भर्खरै सम्पन्न टी–२० विश्वकपमा युएईको कप्तानी गरेका थिए ।
तर डेब्युमा रोहितको प्रदर्शन बिर्सनलायक रह्यो । रोहित १ रनमै आउट भए । युएईका कप्तान रिजवान पनि २ रनमै आउट भए । तर उनको टिमले खेल जित्यो ।
नामिबियाको लागि तयारी
रोहितको ओडीआई कप्तानी डेब्युमा व्यक्तिगत र टिमको प्रदर्शन दुवै सुखद भएन । उनले पावर प्ले मै सुरुवाती ३ विकेट झर्नु हारको मुख्य कारण रहेको प्रतिक्रिया दिए । ४ विकेट गइसकेपछि अर्जुन र दीपेन्द्रको साझेदारीले नेपालको आशा देखाए पनि उनीहरु आउट भएपछि नेपालको जित्ने सम्भावना टाढिएको थियो ।
यस्तै पावर प्लेमा पनि नेपालले युएईको विकेट झार्न सकेन । टस जितेर फिल्डिङ रोजेको नेपालले पावर प्लेलाई कन्डिसन अनुसार सही प्रयोग गर्न नसकेको रोहितको भनाइ थियो ।
नामिबियामा अर्को महिना लिग टु खेल्नुअघि राम्रो कम्बिनेसन मिलाउनका लागि युएई विरुद्धको तीन खेलमा सबैलाई अवसर दिएर हेर्ने नेपालको रणनीति रहेको रोहितले बताए ।
प्रकाशित समय : ११:३७ बजे



















