गृहपृष्ठ काँग्रेसलाई पहिलो स्वीकार्दै ओली–प्रचण्ड दोस्रोको दौडमा !

काँग्रेसलाई पहिलो स्वीकार्दै ओली–प्रचण्ड दोस्रोको दौडमा !

काँग्रेसलाई पहिलो स्वीकार्दै ओली–प्रचण्ड दोस्रोको दौडमा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृहजिल्लामा हराउने गृहकार्य चलेकै बेला उनी गोरखा गए । एमालेको केन्द्रीय नेतृत्व नै चितवनमा प्रचण्डलाई हराउने गरि काँग्रेसको बागी टीमलाई सघाउने पुरापुर तयारीमा थियो । तर प्रचण्डको चलाखी चितवनमा चुनौती बढेपछि ‘सेवर सट’ खोजिरहेका उनले गोरखा दुईमा गएर आफुलाई सुरक्षित बनाएका छन् ।

चालबाजीको पटाक्षेप त त्यतिबेला भयो जतिबेला आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर चितवन ३ मा एमालेले काँग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्‍यो । यता प्रचण्डलाई गोरखामा ‘इन्द्रेको बाउ चन्द्रे’ आए पनि हराउने ठाउँ छैन । र उनले पहिलो हुने सपना पालेका छन् ।

पहिलो यसअर्थमा कि, अबको निर्वाचनमार्फत काँग्रेस पहिलो हुनेमा दुईमत उनीहरुको छैन, तर प्रचण्ड काँग्रेसलाई पहिलो स्वीकार गर्दै आफु कम्युनिष्टमध्येको पहिलो बन्ने प्रयत्नमा छन् । यद्यपी प्रचण्डका लागि एमाले बाधक बन्ने छ ।

यसैपनि आफुलाई देशको पहिलो शक्ति आँकिरहेको एमाले दोस्रो हुनै चाँहदैन । तर पाँच दलीय सत्ता गठबन्धनको प्रभाव र नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनबाट आर्जन गरेको शक्तिकै कारण एमालेको अंकगणितमा बद्लाव आएको छ । अहिले काँग्रेसलाई तह लगाएर आफु पहिलो हुनसक्ने सम्भावना कम भएको स्वीकार्दै एमाले पनि कम्युनिष्ट मध्येको पहिलो हुने तयारीमा छ । ‘स्थानीय तहको परिणाम छुट्टै कुरा थियो । यो निर्वाचनमा हेर्नुस्, गठबन्धनलाई कुन हालतमा पुर्‍याउँछौ, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘माओवादीको त कुनै सम्भावनै छैन । प्रचण्डले यो राजनीतिलाई जति दूर्गन्धित बनाउनु भएको छ त्यसको बदला जनताले लिन्छन् ।’

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा पनि एमाले टक्करमा पुगेको थियो । काँग्रेसले ३२९ पालिका प्रमुख हत्याउदा एमालेको पोल्टामा २०६ पालिका सुरक्षित बनेका थिए । वडाध्यक्षको मतलाई मात्रै निर्णायक मानेर हेर्दा काँग्रेस र एमालेबीच टक्करपूर्ण टकराव थिए । ३९ लाख ५६ हजार काँग्रेस र ३८ लाख ११ हजार मत एमालेको छ । नेकपा माओवादी केन्द्रको मात्र १५ लाख मत छ । यसर्थ एमाले र माओवादीबीचको प्रतिस्पर्धामा ‘गोरु बेचेको साइनो’ छैन ।

तथापी इमान्दार गठबन्धन बनेको र काँग्रेसीले माओवादीमाथि भोट खन्याएको अवस्थामा एमालेको सपनामा पानी छ्यापिन सक्छ । तर गठबन्धनको गठजोडमा समस्या भएको अवस्थामा वा निर्वाचनमा एकअर्कालाई साथ नदिएको अवस्थामा भने एमालेको भाग्य खुल्न सक्छ । विगतकै निर्वाचनमा १२१ सिटसहित शीर्ष स्थानमा रहेको एमाले अहिले पनि सम्भावित पहिलो शक्तिको भागेदार हो ।

नेपाली काँग्रेससँगको सहयात्रालाई अवसरका रुपमा प्रयोग गर्दै शेखर समूहलाई पनि रिझाउन सके प्रचण्ड धेरै ठाउँमा सफल बन्न सक्छन् । किनकि आफ्नो बढाउने भन्दा पनि एमालेको सिट घटाउने प्रचण्डको तयारी छ । यसका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले समेत प्रचण्डलाई साथ दिइरहेका छन् । जस्तो कि, एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई माओवादी केन्द्रले आफुले पाएको भाग समेत छोडिदिएको छ । अहिले उनी माओवादीको काँध र गठबन्धनको साथमा चुनाव लड्दैछन् ।

एमालेबाटै विद्रोह गरेर मधेशका २५ स्थानमा स्वतन्त्र उम्मेदवारी हालेको प्रभु साह समूहलाई पनि प्रचण्डले रिझाइरहेका छन् । प्रभु साहको क्षेत्रमा माओवादीले उम्मेदवारी झिकेर उनलाई समर्थन गर्ने भएको छ । यसलाई आफु जित्नेभन्दा पनि एमालेबाट विद्रोह गरेकालाई साथमा लिँदै एमालेकै सिट घटाउन चाल चलेको स्पष्ट बुझ्न सकिन्छ ।

किनकि निर्वाचन लगत्तै ओलीबाहेकका कम्युनिष्टबीचको वाम एकता गर्ने र त्यसको नेता आफै बन्ने प्रचण्डको अर्को तयारी छ । ‘प्रचण्डको त्यो योजना सफल हुनसक्छ, राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले भने, ‘अहिले यहाँ गोरखा जानुको कारण नै आफु सुरक्षित हुनु हो । त्यसलाई बाबुराम भट्टराईले पनि साथ दिएका छन् । अब निर्वाचनपछि उनीहरुको एकता हुने सम्भावना बलियो छ ।’

अहिलेको निर्वाचन कम्युनिष्टविरुद्ध कम्युनिष्ट बनेको छ । माओवादीसहित नेकपा एकीकृत समाजवादी र जनमोर्चाहरु एकातिर उभिएका बेला एमाले अर्को कित्तामा छ । एमालेबाटै छुट्टीएको समाजवादी स्थापित हुनका लागि एमाले कमजोर बन्नु पर्छ । निर्वाचनकै मुखमा एमालेभित्रको विद्रोहबाट उनीहरु थप हौसिएका छन् ।

यता निर्वाचनकै मुखमा जसपा एमालेतिर ढल्किएपनि विचार नमिल्ने राप्रपासँग पनि एमालेको तालमेल चलिरहेको छ । साना दललाई सारथीकै रुपमा प्रयोग गरेपनि मुल युद्ध एमाले–माओवादीबीचकै भएकाले मंसिर ४ पछि नै कम्युनिष्ट शक्तिको मापन हुने देखिन्छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु