व्यवस्था नै खतरामा परेको छ : देव गुरुङ
वि.सं.२०७९ असोज २६ बुधवार ०९:४२
shares

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अराजकता र अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए ।
उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको समेत बताए ।
माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले यतिबेला मुलुक नै संकटमा परेको बताएका हुन् । नजिकिँदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि वामलोकतान्त्रिक गठबन्धन नै एकताबद्ध भएर अगाडि बढ्ने बताए । ‘हाम्रो पाँच दलीय गठबन्धन अहिलेको व्यवस्था र संविधान रक्षाको लागि हो,’ उनले भने, ‘प्रतिगमनहरूको गठबन्धन संघीयता र कानुनका विरोधीहरूको हो ।’
महासचिव गुरुङले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुले पनि व्यवस्थामाथि खतराको संकेत गरेको बताए । ‘सबै कुरा राष्ट्रपतिले रोक्दै जाने हो भने व्यवस्था सफल कसरी हुन्छ रु,’ उनले प्रश्न गरे, ‘यसरी सरकारले चाहेर पनि केही काम गर्न सक्दैन । अब निर्वाचन आउँदै छ । निर्वाचित शपथको लागि राष्ट्रपतिसमक्ष पुग्दा यो निर्वाचन प्रणली नै गलत छ, म शपथ खुवाउन सक्दिनँ भने के हुन्छ ?’ उनले राष्ट्रपतिको कार्यशैलीमाथि पनि प्रश्न गरेका छन् ।
























