गृहपृष्ठ हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको कदम असफल
हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको कदम असफल
हस्तक्षेप गरेरै भए पनि बैंकको ब्याजदर घटाउने अर्थमन्त्री जनार्दन शर्माको कदम तत्कालका लागि पूरा नहुने भएको छ । केहीदिन अघिमात्रै शर्माले सार्वजनिक रुपमा ब्याजदर घटाउने अभिव्यक्ति दिएका थिए ।
तर ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन गठित अध्ययन समितिले ब्याजदरमा सरकारले हस्तक्षेप गर्न नहुने र बजारलाई स्वतन्त्र छाड्नुपर्ने सुझाव पेश गरेपछि तत्काललाई शर्माको अभिव्यक्तिअनुसार ब्याजदरमा हस्तक्षेप नहुने भएको हो ।
समितिले सोमबार अर्थमन्त्री शर्मालाई बुझाएको प्रतिवेदनमा ब्याजदरमा सरकारले हस्तक्षेप गर्न नहुने, बजारलाई स्वतन्त्र छोडिदिनुपर्ने, मौद्रिक र वित्तीय क्षेत्रमा सुधारका कार्यहरू गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको नियमनलाई सुदृढ बनाउने, वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्नेलगायत सुझाव छन् ।
पछिल्ला महिनामा ब्याजदर धेरै बढेकाले त्यसलाई हस्तक्षेप गर्न भन्दै अर्थमन्त्री शर्माले दसैंअघि नै सुझाव समिति गठन गरेका थिए ।
अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयका एकरएक जना सहसचिव, राष्ट्र बैंकबाट एक जना प्रतिनिधि, निजी क्षेत्रबाट तीन जना प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाबाट दुई जना सदस्य थिए ।
समितिमा ब्याजदर बढ्न दिने वा घटाउने भन्ने सम्बन्धमा सदस्यबीच नै मतभेद देखिएको थियो । निजी क्षेत्रका छाता संगठन जसरी भए पनि ब्याजदर घटाउने पक्ष थिए । हस्तक्षेप गरेरै भए पनि तत्काल ब्याजदर घटाउनुपर्ने उनीहरूको दबाब थियो । खासगरी बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढाएकामा उनीहरूले आपत्ति जनाएका थिए ।
बजारमा पर्याप्त पैसा भएपछि ब्याजदर आफैं घटिहाल्ने भएकाले हस्तक्षेप गरेर ब्याजदर घटाउनुको साटो निक्षेप संकलनका नयाँ स्रोत खोजी गर्नुपर्ने उनीहरूको सुझाव छ ।
तर कात्तिकदेखि झनै ब्याजदर बढ्ने भएको छ । आउँदो कात्तिकदेखि बैंक तथा वित्तीय संस्थाले कर्जा (नयाँ पुराना दुवै) को ब्याजदर बढाउने भएका छन् । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका हुन् ।
गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको छ । सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका हुन् ।
प्रकाशित समय : १०:०० बजे

















