global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ म्याग्दीका पाँच सय उम्मेदवारलाई जरिवाना

म्याग्दीका पाँच सय उम्मेदवारलाई जरिवाना

म्याग्दीका पाँच सय उम्मेदवारलाई जरिवाना

गत स्थानीय तहमा उम्मेदवार बनेका यहाँका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका पाँच सय सात जनालाई एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म जरिवाना तोकेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार सात सय १८ जनामध्ये दुई सय ८६ जनाले मात्र तोकिएको समयभित्र खर्च विवरण बुझाएका थिए ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा तोकिएको सीमाभित्र रहेर खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । विसं २०७९ असारभित्र विवरण नबुझाएका उम्मेदवारलाई आयोगले गत भदौमा स्पष्टीकरणसहित खर्च विवरण बुझाउन समय दिएको थियो ।

मालिका गाउँपालिकाका एक सय ३२, रघुगंगाका एक सय १४, बेनी नगरपालिकाका ९६, मंगला गाउँपालिकाका ७९, धवलागिरि गाउँपालिकाका ४४ र अन्नपूर्णका ३५ जनालाई आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित उम्मेदवार छन् । केही विजयी र दोस्रोपटक उम्मेदवार भएकाहरूले समेत विवरण बुझाएका छैनन् ।

निर्वाचन कार्यालयले शनिबार सार्वजनिक गरेको विवरणानुसार बेनी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका राप्रपाका मीना सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापा, उपप्रमुखमा उम्मेदवार बनेका एमालेका पशुपति शाही, राप्रपाका एकेन्द्र रावललाई जनही चार लाख ५० हजार जरिवाना तोकिएको छ ।

खर्च विवरण नबुझाउने नगरपालिकाका वडाध्यक्षका उम्मेदवारलाई जनही दुई हजारका दरले जरिवाना तोकिएको छ । अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका उम्मेदवार कांग्रेसका बलबहादुर तिलिजा पुन, राप्रपाका तीर्थ खड्का, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर गर्बुजा, उपाध्यक्षमा कांग्रेसका ललिता तिलिजा पनि समयमा विवरण नबुझाएका कारण जनही रु तीन लाख पचास हजार जरिवानामा परेका छन् ।

कांग्रेसबाट मालिकाको अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका, मंगोलका खमबहादुर रोका, उपाध्यक्षका उम्मेदवार पिपला बुढाथोकी र माओवादीका उपाध्यक्ष उम्मेदवार गौरी सेञ्चुरीले पनि निर्वाचन विवरण बुझाएका छैनन् । धवलागिरि गाउँपालिकाको अध्यक्षका उम्मेदवार राप्रपाका होमबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)का बमबहादुर पाइजा, उपाध्यक्षका उम्मेदवार मंगोलका खममाया रोका, रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित कांग्रेसका प्रेमकुमारी पुन, एमालेका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की, माओवादीका मीना विक, स्वतन्त्र सागर भण्डारी, उपाध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका रिमबहादुर कटुवाल, स्वतन्त्र अनुरोध रिजाल पनि जरिवानामा परेका छन् ।

मंगला गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार वीरेन्द्र बुढाथोकी, राप्रपाका योगेन्द्र शेरचन, मंगोलका गिरु रोका, उपाध्यक्षमा कांग्रेसका शर्मिला थापा, माओवादीका सुकमाया रोका र राप्रपाका विन्दु मल्ललाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

अन्नपूर्णमा ३१, मालिकाका एक सय २७, रघुगंगाका एक सय नौ, धवलागिरिका ४२, मंगलाका ७३ उम्मेदवार समयमा चुनाव खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका छन् । गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई जनही एक लाख ५० हजारका दरले जरिवाना तोकिएको छ ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु