गृहपृष्ठ उच्च अंकले बढ्यो नेप्से, सबै सूचक हरियाली
उच्च अंकले बढ्यो नेप्से, सबै सूचक हरियाली
आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । केही दिनयता लगातार घटेको पुँजीबजारमा आज एकाएक सुधार आएकाे हाे ।
लगातार एक सातासम्मकाे गिरावटपछि हिजाे र आज नेप्से बढेकाे हाे । आज ४७.४४ अंकले बढेर १९८१ नेप्से विन्दुमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा कायम भएको थियाे । त्यस दिन ९२ करोड २५ लाख ७४ हजार रूपैयाँको कारोबार भएको थियाे । यसअघि गत १९ गते ६.६८ अंकले बढ्दै १९७७.३० नेप्से अंकमा उक्लिएको थियाे । त्यसयता भने हरेक दिन सेयर बजार सूचक घट्ने क्रम राेकिएकाे थिएन ।
हिजाे साेमबार सेयर बजार १३.५८ अंकले घटेर नेप्से १९१२.६९ को विन्दुमा कायम हुन पुगेको थियाे । त्यसअघि आइतबार नेप्से ११.४६ अंकले घटेको थियाे । सेयर बजार निरन्तर घट्ने क्रममा यसअघि भदाै २३ मा २.१३, भदाै २२ मा १.७०, भदाै २१ मा २१.२२ र भदाै २० मा ४.२९ अंकले नेप्सेमा गिरावट आएकाे थियाे ।
आज नेप्सेमा रहेका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स सूचक ५.९३ प्रतिशत र व्यापार सूचक ५.७५ प्रतिशतले बढेको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा सर्किट लागेको छ । त्यस्तै, लाइबर्टी इनर्जी कम्पनीको ८.३२, युनाइटेड मोदी हाइड्रोपावरको ७.८१, सामुदायिक लघुवित्तको ७.८० र गुराँस लघुवित्तको ७.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, एनआइसी एसिया फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबीएल प्रगति फण्डको ८.९५, सनराइज फस्ट म्युचल फण्डको ७.६७, सानिमा लार्ज क्याप फण्डको ३.१९ र मैलुङ खोला जलबिद्युतको २.६५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज सर्वाधिक कारोबार हुने अग्रस्थानमा नबिल बैंक रहेकाे छ । नबिलकाे ६ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख, हिमालय एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख, अपि पावरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:२६ बजे



















