गृहपृष्ठ पाकिस्तानका लागि २२ टन राहत लिएर कराची जाँदै वाइडबडी
पाकिस्तानका लागि २२ टन राहत लिएर कराची जाँदै वाइडबडी
नेपाल वायुसेवा निगमको वाइडबडी २२ टन राहत सामग्री लिएर पाकिस्तानको कराची जाने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार मंगलबार बिहान ११ बजे आरए–२१७२ उडान नम्बरको वाइडबडी विमान काठमाडौंबाट राहत सामग्री लिई कराची जाने छ ।
उक्त उडानमा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा भट्टराईको नेतृत्वमा ६ जना कर्मचारी, ५ जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी र निगमका एक कर्मचारीसहित १३ जना यात्रु छन् ।
उक्त विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाडौं फर्किने मन्त्रालयले जनाएको छ । काठमाडौं–कराची एकतर्फी उडान समय पौने तीन घन्टा हाराहारीको रहेको छ ।
मन्त्रिपरिषद्ले अघिल्लो मंगलबार पाकिस्तानमा आएको विनाशकारी बाढीमा नेपालको तर्फबाट राहत सामग्री पठाउने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर गरेको हो ।
प्रकाशित समय : ११:०७ बजे



















