गृहपृष्ठ इन्धनमा अचाक्ली : घट्दा घटेन, बढ्दा ह्वात्तै बढ्यो
इन्धनमा अचाक्ली : घट्दा घटेन, बढ्दा ह्वात्तै बढ्यो
नेपालमा पेट्रोलियम पदार्थको मूल्य १५/१५ दिनमा समायोजन हुँदै आएको छ । भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद हेरफेर भएर आएपछि नेपालमा पनि त्यसकै आधारमा मूल्य समायोजन हुन्छ ।
बिहिबार राति मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले फेरि मूल्य बढाएको छ । अहिले बढेको मूल्य अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले वृद्धि गरिएको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमको तर्क छ । भारतबाट तेलको मूल्य बढेर आएपछि मूल्य बढेको निगमको भनाइ छ । तर यसअघि भारतबाट घटेर आउँदा निगमले मूल्य घटाएको थिएन ।
यसअघि आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो । तर तीनपटक मूल्य घटेर आएपनि निगमले मूल्य घटाएको थिएन ।
भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । निगमले मूल्यमा ह्वात्तै वृद्धि गरेको छ ।
मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा रहेको भन्दै निगमले नयाँ विज्ञप्ति जारी गरेको छ । मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने नीतिले आम उपभोक्ताहरू मारमा परेको छन् । चाडबाड नजिकिँदै गर्दा इन्धनमा भएको मूल्य वृद्धिले बजारभाउ थप महँगिने पक्का बनेको छ ।
मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको निगमको दाबी छ ।
प्रकाशित समय : ०८:२६ बजे



















