गृहपृष्ठ गठबन्धनमा भागको लफडा, १० घण्टा चलेको बैठकमा जुटेन सहमति
गठबन्धनमा भागको लफडा, १० घण्टा चलेको बैठकमा जुटेन सहमति
बिहीबार बिहान ११ बजेदेखि राति १० बजेसम्म बैठक बस्दा पनि भागबण्डा टुंगो नलागेपछि गठबन्धनको बैठक आज फेरि बस्दैछ ।
पाँचदलीय सत्ता गठबन्धनलाई प्रतिनिधिसभातर्फका १ सय ६५ सिट भागबन्डा गर्न निकै सकस परेको हो । निर्णायक बैठक भनेर बिहीबार बिहान ११ बजेदेखि बसेको गठबन्धनको शीर्ष बैठक राति १० बजेसम्म चलेको थियो ।
नेताहरूले सहमतिनिकट भनेर प्रतिक्रिया दिए पनि बैठकमा संख्याकै विषय पेचिलो बनेको थियो । बैठकको सुरुवातदेखि नै कांग्रेसले कति सिट लिने र बाँकी दललाई कति छुट्याउने भन्ने प्रस्तावकै वरिपरि छलफलकेन्द्रित भएको थियो ।
बालुवाटार स्रोतका अनुसार कांग्रेसले सय सिट दाबी गरेर ९० सिटको बटमलाइन अघि सारेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई त्यसमध्येबाटै केही सिट छुट्याउने गरी कांग्रेसले उक्त बटमलाइन राखेको हो ।
७५ सिटमा अन्य दललाई मिलाउन प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । तर दाहालले ५० प्रतिशत कांग्रेसले राखेर बाँकी अन्य दललाई छाड्न आग्रह गरे । कांग्रेसलाई ५० प्रतिशत दिन एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने तयार थिएनन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कांग्रेसलाई ७० सिट मात्र लिन प्रस्ताव गरेका छन् । अरु सिट गठबन्धनमा सहभागी दलहरुमा भागवण्डा गर्ने उनको प्रस्ताव छ । कांग्रेसलाई ७० सिटमा झार्न सके आफ्नो दलले कम्तिमा २५/३० सिटसम्म पाउन सक्ने समाजवादीका नेताहरुको बुझाइ छ । पार्टी विभाजन गरेर जोखिम मोलेको तर्क अघि सार्दै उनले आफ्नो पार्टीले २५/३० सिट पाउनुपर्ने तर्क गरे ।
बैठकमा माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटको प्रस्ताव गरेका थिए । जसपाले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो दलले २२/२५ सिट पाउनुपर्ने अडान राखेका छन् । १२/१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ नहुने उनको तर्क छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ र प्युठान नपाउने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएपछि कांग्रेस नेता अलमलमा परेका छन् ।
प्रकाशित समय : ०७:५२ बजे



















