गृहपृष्ठ डलर कार्डबाट भुक्तानी गर्न नपाइने, कहाँ कहाँ लाग्याे प्रतिबन्ध ?
डलर कार्डबाट भुक्तानी गर्न नपाइने, कहाँ कहाँ लाग्याे प्रतिबन्ध ?
राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने क्षेत्रहरु तोकिदिएको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको छ ।
कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म छन् ।
त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन । प्रत्यक्ष बिमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइने छैन ।
विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमवापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न पाइने छैन । विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोषवापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न पाइने छैन ।
हाल वाणिज्य तथा विकास बैंकहरुले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउनेगरी डलर कार्ड दिने गरेका छन् ।
१५ महिनामा बाहिरियो ८८ करोड
मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा डलर कार्डमार्फत पनि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको भन्दै राष्ट्र बैंकको आलोचना हुन थालेपछि यसअघि एक अध्ययनले गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत असारसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन् । वाणिज्य बैंक र विकास बैंकले उक्त कार्ड जारी गर्न पाउने व्यवस्था छ । तर हालसम्म २३ वटा वाणिज्य बैंकले मात्र कार्ड जारी गरेका छन् ।
ती कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर (करिब १ अर्ब १९ करोड १९ लाख रुपैयाँ) भरिएको (लोड गरिएको) छ । भरिएको मध्ये ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८८ लाख ९१ हजार रुपैयाँ) खर्च भएको राष्ट्र बैंकले जनाएको छ । ०७८ असारसम्म ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए ।
ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकाेमा ४ लाख ८९ हजार डलर खर्च भएको थियो । ०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसकारण ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो ।
तर गत असारसम्म आइपुग्दा डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ ।
प्रकाशित समय : १०:४५ बजे


















