nmb bank

गृहपृष्ठ ८५ दिनमा ६ अर्बको बिजुली भारत निर्यात

८५ दिनमा ६ अर्बको बिजुली भारत निर्यात

८५ दिनमा ६ अर्बको बिजुली भारत निर्यात

चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद संकेत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत निर्यातक देशका रुपमा परिणत भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ ।

भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले चालू आर्थिक वर्षमा मात्रै १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ ।

आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । घिसिङ भन्छन्, ‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछौँ ।’

गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात सुरु भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै झण्डै दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ ।

वर्षाको मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाई छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिक रुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आर्थिक वर्षमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाई छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु