global ime bank Long Banner Ad

गृहपृष्ठ स्वार्थका सारथी

स्वार्थका सारथी

सत्ता गठबन्धन : मुखभन्दा गाँस ठुलो

स्वार्थका सारथी

चुनाव आउन ८६ दिन मात्रै बाँकी छ । ४ मसिंर ०७९ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले आफ्नो तालिका सार्वजनिक गरिरहेको छ । आयोगको कार्यतालिका अनुसार, दलहरु आफ्नो पूर्व तयारीमा जुटिरहेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । उक्त बैठक, राष्ट्रपति विद्यादेवी भण्डारीको सैनिक अधिकारीसँगको भेटघाटलाई जोडेर टुंगियो । बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिका पछिल्ला कदमहरू अस्वाभाविक भएको निष्कर्ष निकाल्दै टुंगिएको उक्त बैठक थियो ।

त्यसलगत्तै सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको कार्यदलको बैठक बस्यो । उक्त बैठकले पनि सिट बाँटफाँडको विषयलाई टुंगोमा पुर्‍याएन । तर, सिट संख्यामा आ–आफ्नो दाबी गर्न भने कोही पछि परेनन् ।

जसअनुसार, नेपाली कांग्रेसले एक सय सिटको दाबी गरेको छ । माओवादीको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३२ र जनमोर्चाको २ सिटको दाबी प्रस्तुत भएको छ । यो प्रतिनिधिसभातर्फको हो । प्रत्यक्षतर्फ १६३ निर्वाचन क्षेत्र भएको प्रतिनिधिसभामा दलहरुको दाबी हेर्दा २ सय ३३ सिट हुन्छ ।

यस विषयलाई लिएर शुक्रबार पनि कार्यदलको बैठक जारी छ । सिट बाँडफाँडकै लागि २३ साउन ०७९ मा बनेको कार्यदल अहिलेसम्म निष्कर्षमा नपुग्दा केही प्रश्नहरु पक्कै उब्जिएका छन् ।

सिट बाँडफाँडमा सबैको अडान उस्तै रहे गठबन्धन हुने कि नहुने ? कहाँसम्म जाने ? कि छुट्टाछुट्टै निर्वाचन लड्ने ? उस्तै प्रश्न र यस्तै आशंका ।

माओवादी केन्द्रका शीर्ष नेताको सचिवालयका अनुसार, गठबन्धन रहिरहने तर सिट बाँडफाँडकै कारण चुनावसँगै लड्ने सम्भावना कम हुँदै गएको छ ।

सचिवालयले स्रोतले भन्यो–‘कांग्रेस बढी नै महत्त्वाकांक्षी भयो । एक अर्थमा नेताहरुसँग स्थानीय तह चुनावको दम्भ छ । त्यसले गर्दा पनि बढी महत्त्वाकांक्षी देखिएको हो । यसले गर्दा सिट बाँडफाँडमा समस्या देखिएको छ । गठबन्धन रहन्छ । चुनावी तालमेल नभए पनि ।’

एक माओवादी नेताले भने–‘चुनावमा तालमेल गर्ने कि नगर्ने ? यो विषय सिट बाँडफाँडबाट प्रष्टै थाहा भइरहाल्छ । गगनजीहरुले त भनी नै सक्नुभएको छ । बागी उम्मेदवारसम्म उठ्छन् भनेर । हाम्रा बागी होलान् । तर, प्रधानमन्त्री त्यस्तो पक्षमा हुँदैन । हामी दाबी प्रस्तुत गरेका छौं । हाम्रो पनि जितेका सिट कायम गर्ने नै भन्ने छ ।’

विजयी भएको सिट कायम गर्ने र अरु सिट बाँडफाँड गर्ने माओवादीको धारणा छ । तर, कांग्रेस कार्यदलका सदस्य भने ०७९ को स्थानीय निर्वाचनको मतपरिणाम हेरेर आफ्नो सिट कायम हुनुपर्ने दाबी गरेको देख्न सकिन्छ ।

यता ४० सिटको दाबी प्रस्तुत गरेको एकीकृत समाजवादीले २० सिट एक्लै लडे आउने र गठबन्धनमा सामेल भएपछि ४० सिट पाउनुपर्ने दाबी गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २० सिट कतै खेर नजाने बताए । उनले भनेका छन् – ‘हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख २७ हजार भोट पाएका छौँ । यदि, हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट पाउन सक्थ्यौँ । यत्ति भोट पायौँ भने १५ देखि २० सिट कसैले रोक्न सक्दैन । त्यसैले आउने चुनावमा समानुपातिक मतका आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्छ ।’
कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको मत यस्तो छ – ‘प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको परिणामकै आधारमा सिट बाँडफाँड हुनसक्छ । यस विषयमा कार्यदल भित्र छलफल भइरहेको छ ।’

यस विषयमा कार्यदलमा मात्रै होइन । गठबन्धनका शीर्ष नेताहरुको पनि छलफल भइरहेको जानकारी दिँदै कार्कीले भनेका थिए–‘कार्यदलको प्रतिवेदन तयार हुँदै छ । प्रतिवेदन तयार हुन बाँकी नै छ । कार्यदलले आफ्नो परिवर्तन पेस गर्छ । सबै अध्ययन गरेर गठबन्धन अगाडि बढ्छ ।’ दाबी प्रस्तुत त हुने भयो तर त्यसैलाई नै निर्णय मान्न नसकिने मन्त्रीको भनाइ छ ।

कार्यदलभित्रै कांग्रेसको भिन्न मत देखिएको छ । कार्यदलमा सामेल सदस्यहरुको मत विभाजित छ । कांग्रेस महामन्त्री गगन थापाले एक सय सिटको दाबी गरिरहँदा कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले ८८ सिटको दाबी गरिरहेका छन् ।

तर, यसमा सञ्चारमन्त्री कार्कीको मत भिन्न छ – ‘कार्यदलले प्रतिवेदन पेस गर्छ । अन्तिममा गठबन्धनका शीर्ष नेताहरुको निर्णय नै अन्तिम हुन्छ ।’

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची नजिकिँदै गर्दा पनि गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुगेको छैन । गठबन्धनभित्र बनेको कार्यदलको दाबी हेर्दा गठबन्धन अहिले नै चुनावसम्म जान्छ भनेर भविष्यवाणी गर्ने स्थिती छैन । यो गठबन्धन जतिबेला पनि जहाँ पनि नेता र नेतृत्वको स्वार्थ नमिले टुट्नसक्छ ।

०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेससँग तालमेल गरेरै जाने भन्ने हिसाबले गठबन्धन भएको थियो । कांग्रेस र माओवादीका उम्मेदवार एउटै थिए । अन्तिममा छोरी रेणु दाहाललाई जिताएर संघ र प्रदेशको चुनावमा भागबन्डा गर्न प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कहाँ पुगे र कांग्रेसले पहिलो दोस्रो पार्टी स्थानबाट झारिदिए । कांग्रेससँगको त्यो अवस्था भरतपुरमा मात्रै होइन देशभर त्यस्तो अवस्था देखिएको छ ।

अहिलेको गठबन्धन माओवादीसहित पाँच दलको छ । एकीकृत समाजवादी त माओवादी अध्यक्ष प्रचण्डकै इसारामा छ । माओवादी र समाजवादी एउटै घोषणा पत्रमा चुनाव पनि लड्दै छन् । प्रचण्ड, बाबुराम र माधव–झलनाथहरु एकै ठाउँमा उभिने र समाजवादी केन्द्र बनाउने प्रयास पनि भएका छन् ।

गठबन्धनको सिट बाँडफाँडको लफडा नियालिरहेको एमाले कतिबेला गठबन्धन टुट्छ भन्ने पर्खाईमा छ । ओलीले वाम–एकताको हरियो झण्डा देखाउनासाथ गठबन्धन कहाँसम्म पुग्छ ? भन्ने कुराको एकीन गर्न सकिँदैन ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि बिहीबारको पोलिटब्युरोको बैठकमा वाम–एकताको प्रस्ताव अध्यक्ष ओलीसँग राखेका छन् । बैठक जारी छ । यसलाई अध्यक्ष ओलीले सकारात्मक रुप लिए गठबन्धन धरमराउन सक्छ भन्न त्यति गाह्रो हुँदैन । उसै पनि स्थानीय तह निर्वाचनको परिणामबाट एक हदसम्म पाठ सिकेका ओलीले गठबन्धन टुटाउन चाहिरहेको अवस्था छ ।

यद्यपि, यसको अर्को कोण पनि छ । अर्थात् एकताको सन्देश दिएर सत्ता गठबन्धन टुटाउने र सहकार्य नगरेरै चुनाव एक्लाएक्लै लड्ने एमालेको दाउ पनि छ । यसकारण पनि माओवादी, एकीकृत समाजवादी र पाँच दलीय गठबन्धनमा सामेल साना दलहरु सिट बाँडफाँडमा असन्तुष्ट देखिए भने कांग्रेसका लागि यो झट्का सावित नहोला भन्न सकिन्न ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु