गृहपृष्ठ दशैंका लागि ३ हजार खसीबोका र च्यांग्रा ल्याइँदै
दशैंका लागि ३ हजार खसीबोका र च्यांग्रा ल्याइँदै
यसपालीको दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । घटस्थापना सुरु हुन करिब महिनादिन बाँकी रहँदा खाद्यका साथै साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दिन गृहकार्य थालेका छन् ।
खाद्यले खसीबोका/च्यांग्रा, चामल, दाललगायत गेडागुडीमा छुट दिने जनाएको छ । खाद्यले गत वर्ष १९ सय ५५ खसीबोका ल्याएर बिक्री गरेको थियो । करिब एक हजार च्यांग्रा ल्याउने भनिए पनि आयात गर्न सकेको थिएन । कोभिडका कारण सीमा नाकाहरु बन्द भएपछि हिमाल क्षेत्रबाट ल्याइने च्यांग्रा ल्याउन सकिएको थिएन ।
खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या थोरै भए पनि त्यसले बजार हस्तक्षेप गर्न सघाउँछ । खाद्यले मूल्य तोकेपछि व्यापारीले चर्को मूल्य राख्न पाउँदैनन् । यो वर्ष च्यांग्राको खोजीरसम्भावनाबारे खाद्यले मुस्ताङ शाखा कार्यालयलाई पत्राचार गरिसकेको छ ।
खसीबोका विशेषगरी तराईका जिल्लाबाट ल्याइन्छ । खरिद मूल्यमा ढुवानी र प्रशासनिक खर्चसहित जोडेर खुद्रा बिक्री मूल्य तय गरिन्छ । खाद्यले बेच्ने खसीबोका व्यापारीका भन्दा सस्ता हुन्छन् ।
खाद्यले खसीबोकासँगै चामल, दाल, तेल, आँटा, कर्णालीको सिमीलगायत खाद्यान्न छुटमा बिक्री गर्ने जनाएको छ । तर छुट रकम र सहुलियत पसलको स्टलबारे निर्णय भइसकेको छैन । छुटको सन्दर्भमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेपछि खाद्यले कार्यान्वयन गर्नेछ । कम्पनीले सातै प्रदेशको डिपोबाट सहुलियत मूल्यमा चामललगायत गेडागुडी उपलब्ध गराउने जनाएको छ ।
दशैं र तिहारका अवसरमा हरेक वर्ष ६० देखि ७० अर्ब बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
प्रकाशित समय : ०९:१९ बजे



















