एनएलजी इन्सुरेन्स र इ-बीमाबीच व्यावसायिक सम्झौता
वि.सं.२०७९ भदौ ९ बिहीवार १२:३५
shares

पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।
सम्झौताअनुसार इ-बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ-बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
यस्तै, निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।
इ-बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।
बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

























