हिमालयन र बीओकेले फिर्ता पाए ‘फसेको’ डेढ अर्ब रुपैयाँ
वि.सं.२०७९ भदौ ७ मंगलवार १९:०५
shares

मेलम्ची खानेपानी आयोजनामा जमानत राखिएको हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)को रकम दुवै बैंकले फिर्ता पाएका छन् । काउन्टर ग्यारेन्टी बसेको करिब एक दशकपछि साे रकम दुवै बैंककाे खातामा फिर्ता आएको हाे ।
बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर तथा १४ लाख ११ हजार ४५३ युरो काउन्टर ग्यारेन्टीअन्तर्गत मेलम्ची खानेपानी आयोजनालाई दिएको थियो । त्यस्तै हिमालयन बैंकले ६६ लाख अमेरिकी डलरको काउन्टर ग्यारेन्टी दिएको थियो । हिमालयन र बीओकेले स्टाण्डर्ड चार्टर्ड बैंकमा खोलेको खातामा चिनियाँ रेल्वे ब्यूरोबाट पैसा जम्मा भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङको ठेक्का चाइना रेल्वेले पाएको थियो । सम्झौताअनुसार काम गर्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाले चाइना रेल्वेसँग ठेक्का तोडेपछि काउन्टर ग्यारेन्टी वापतको पैसा फसेकाे थियाे । साेही रकम दुवै बैंकले पाएका हुन् ।
सम्झौता अनुसार काम नगरेपछि चाइना रेल्वेले ग्यारेन्टी वापतको पैसा दिनुपर्ने थियो । उसले पैसा तिर्न नसक्ने भन्दै चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो । नेपालमा मेलम्ची खानेपानी आयोजनाले हिमालयन बैंक र बीओके विरुद्ध मुद्दा दायर गरेको थियो । पछि अदालतको आदेश अनुसार मेलम्ची खानेपानी आयोजनालाई पैसा हिमालयन र बीओकेले भुक्तानी गरेको थिए ।
चीनमा भने हिमालयन र बीओकेले चाइना रेल्वे र चाइना कन्सट्रक्सन बैंकविरूद्ध मुद्दा लडेका थिए । गत साता चीनको उच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेपछि दुई नेपाली बैंकले डेढ अर्ब रुपैयाँ फिर्ता पाएको हो ।

























