गृहपृष्ठ मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरि

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरि

मानव अधिकारवादीको सम्झनामा समाजवादी चिन्तक प्रदीप गिरि

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरि देश, पार्टी र सत्ताको सीमाभन्दा माथि उठेको व्यक्तित्वका रूपमा सम्झन्छन् पूर्वसभामुख एवं मानव अधिकारवादी नेता दमननाथ ढुंगाना । प्रखर विचारक र वक्ताका रूपमा स्थापित गिरि देशका सच्चा समाजवादी भएको उनी बताउँछन् ।

स्वतन्त्रताबाट नै समाजवादको विकास गर्न सकिन्छ भन्ने सोचबाट प्रतिबद्ध आजीवन योद्धाका रुपमा गिरि स्थापित भएको ढुंगानाले सम्झिए । गिरिले नेपाल मानव अधिकार संगठनको संस्थापक महासचिवका रूपमासमेत काम गरेका थिए ।

पञ्चायतकालमा मानव अधिकारको धेरै उल्लंघन हुन थालेपछि अधिकारको संरक्षण र प्रजातन्त्र पुनःस्थापनाका लागि संगठनको स्थापना भएको मानव अधिकारवादी नेता कपिल श्रेष्ठ बताउँछन् । गिरिले मानव अधिकार आन्दोलनमा ऋषिकेश शाहलाई पनि ल्याएको उनले स्मरण गरे ।

‘विसं २०४२ को सत्याग्रहको असफलतापछि परम्परागत तरिकाले नेपालमा प्रजातन्त्रको पुनःस्थापना हुन सक्दैन भन्ने निष्कर्ष गिरिले निकाल्नुभएको थियो, वामपन्थीसँग पनि मिलेर प्रजातन्त्र पुनःस्थापनाका लागि जनआन्दोलन गर्नुपर्छ भन्ने दबाब तत्कालीन कांग्रेस पार्टी नेतृत्वलाई गिरीलगायतका नेताले दिनुभयो,’ श्रेष्ठले भने ।

मार्क्सवाद र समाजवादका बारेमा समानान्तर रूपमा अध्ययन गर्ने गिरिजत्तिको नेता नेपालमा नभएको उनले सुनाए । भारतमै पनि यी दुवै विषयलाई उत्तिकै अध्ययन गर्ने मानिस पनि कमै छन् । गिरी कुनै ठाउँमा एक महिनामात्र बसे भनेपनि कोठाभर पुस्तक जम्मा भइसक्थ्यो । केही समयमै उनी आफू बसेको स्थानमा पुस्तकालय बनाउथ्ये । यसबाट गिरिको अध्ययनशीलता बुझ्न सकिन्छ ।

सबैसँग राम्रो र मिठो बोल्ने गिरि स्वभावमा भने अराजक थिए । बहुमुखी प्रतिभाशाली व्यक्तित्वका धनी गिरि प्रजातान्त्रिक समाजवादका बारेमा बिपी कोइरालापछिका चिन्तक भएको सुनाउँछन् श्रेष्ठ ।

महात्मागान्धीको अहिंसावादी प्रेरणाबाट प्रेरित गिरि पूर्वीय दर्शनबाट प्रभावित थिए । अध्यात्मको गहिरो ज्ञान पनि उनमा थियो । विसं २०४५ मा नेपाल मानव अधिकार संगठनको स्थापना भएदेखि नै चिन्तक गिरिसँग सहकार्य गरेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी चिन्तनसँगै आफ्नो तर्क पनि प्रस्तुत गर्ने व्यक्तित्वका रुपमा गिरीलाई सम्झन्छन् । विशिष्ट चिन्तक गिरिका तर्क बलशाली हुन्थे ।

नेपालमा विसं २०६३ वैशाख ११ गते रातिको परिवर्तनपछि काठमाडौँ उपत्यकामा विजयसभा नगर्ने सहमति सात राजनीतिक दलका नेताले गरेका रहेछन् । यो विषयलाई पहाडीले आफ्नो पुस्तक ‘प्रसंग एकः सन्दर्भ अनेक’ मा पनि उल्लेख गरेका छन् । विसं २०६३ वैशाखमा लोकतन्त्र प्राप्तिको खुसीयालीमा दलले कुनै सभा आयोजना नगरेपछि नागरिक समाजका तर्फबाट गरिएको सभामा कांग्रेस नेता गिरि र गगन थापा भने सहभागी भएको उनले सुनाए । सभा राति ढिलासम्म आयोजना भएको थियो ।

भर्खरै राजनीतिक परिवर्तन भए पनि आशंकाका घेरा बाँकी रहेकाले छिटो कार्यक्रम सक्नुपर्छ भन्दै गिरिले दिएको सुझाव परिपक्व चिन्तनको प्रतीक भएको मानव अधिकारवादी नेता पहाडीले सम्झिन्छन् । विसं २०६४ मा भारतमा गान्धीजयन्तीको शतवार्षिकी समारोहका रुपमा ‘सत्याग्रह शताब्दी अन्तर्राष्ट्रिय समागम’ आयोजना गरिएको थियो । त्यो कार्यक्रममा पनि लामो समय गिरिसँगै यात्रा गरेका मानव अधिकारवादी नेता पहाडी उनीजस्तो चिन्तक अब पाउन गाह्रो हुने बताउँछन् ।

राजनीति पद र पैसामा बिकेर दुर्गन्धित बनेका बेला एक जना आदर्शवादी राजनीतिक चिन्तकका रूपमा आफूले गिरीलाई स्मरण गर्ने मानव अधिकारवादी नेता श्याम श्रेष्ठ बताउँछन् । गिरिले बिपी कोइरालालाई मार्क्सवाद पढाउन ‘लेनिन’ पुस्तक लेखेको उनले स्मरण गरे । ‘गिरिलाई ज्ञानको विश्वकोष भन्न सकिन्छ, दक्षिण एसियामै आदर्श राजनीतिज्ञको परिचय बनाउन उहाँ सफल हुनुभएको छ, आदर्श राजनीतिक चिन्तकका रुपमा उहाँको सधैँ सम्झना हुने छ,’ मानव अधिकारवादी श्रेष्ठले भने ।

लोकतान्त्रिक मूल्य, मान्यता र बहुलवादी खुला समाजका प्रखर चिन्तकका रूपमा गिरीलाई सम्झिन्छन् मानव अधिकारवादी नेता सुबोध प्याकुरेल ।

सिराहाको बस्तीपुरको ग्रामीण भेगमा जन्मिएर समाजवादी चिन्तनलाई व्यक्तिगत राजनीतिक जीवनमा उनले रूपान्तरण गर्न सफल भएको पनि उनले सुनाए । (रासस)

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु