global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रचण्डको खल्ती कति भारी ? पदाधिकारी निकाल्नै सकेनन् !

प्रचण्डको खल्ती कति भारी ? पदाधिकारी निकाल्नै सकेनन् !

प्रचण्डको खल्ती कति भारी ? पदाधिकारी निकाल्नै सकेनन् !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खल्तीबाट निस्किने पदाधिकारीको नाम पर्खिन थालेको ८ महिना बित्यो । तर कसैको नाकमुख देखिएन ।

पुसमा महाधिवेशन सम्पन्न गरेका प्रचण्डले शुक्रबार पार्टी पदाधिकारी र स्थायी समितिका बाँकी सदस्यको नाम फुत्त खल्तीबाट निकाल्ने सबैको अपेक्षा थियो । तर नेताहरुको आकांक्षा र बढ्दो हानथापका कारण प्रचण्डले शुक्रबार पनि माओवादीलाई पदाधिकारीविहीन बनाएका छन् ।

अध्यक्ष प्रचण्डले के निर्णय गर्छन्, कसलाई केमा नियुक्त गर्छन् र कहिले गर्छन् कसैलाई थाहा छैन । प्रचण्डको पदाधिकारी कुर्दाकुर्दा माओवादीकै नेताहरु पनि आजित भएका छन् । विशेषगरी पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छनोटको विषय महाभारत बनिरहेको छ । बर्षमान पुन र जनार्दन शर्माको चर्चा चलिरहेका बेला एकाएक देव गुरुङको नाम अगाडि आएको छ ।

पुन र शर्मामध्ये एउटालाई बनाउँदा अर्को चिढिने बुझेका प्रचण्डले तेस्रो व्यक्तिलाई ल्याएर विवाद समाधानको प्रयास गरेका छन् । तर थप पाँच जना महासचिवको होडमा लागेपछि निर्णय गर्न थप समय लाग्ने भएको छ । तथापि शनिबार नै पदाधिकारी टुंग्याउने तयारी भइरहेको प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले भने, ‘शुक्रबार विभिन्न कारणले पदाधिकारी चयन हुन सकेन, शनिबार जसरी पनि पदाधिकारी चयन गर्छौं । ढुक्क भएर बस्नुस् । अध्यक्ष कमरेडले आज पदाधिकारी दिनुहुन्छ ।’

पुन, शर्मा र गुरुङसहित गिरिराजमणि पोखरेल, पम्फा भुसाल, हरिबोल गजुरेल र शक्ति बस्नेतले पनि महासचिवकै आकांक्षा पालेका छन् । फलतः असार २३ को केन्द्रीय कमिटी बैठकमै गोजीमा पदाधिकारीको नाम छ भनेका प्रचण्डलाई अझै निकाल्न धौधाै परिरहेको छ । प्रचण्डले पार्टीभित्र पदप्राप्तिलाई मुख्य विषय बनाउँदा समस्या भएको बताएका छन् । शुक्रबार भातृ संगठन वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीमा पदमोह बढेकोतर्फ संकेत गरेका थिए ।

पुसमै सम्पन्न महाधिवेशनबाट आफैले आफैलाई टिका लगाएर अध्यक्षमा घोषणा गर्दा हलले ताली बजाएर प्रचण्डलाई अनुमोदन गरेको थियो । त्यसयता असारमा बसेको केन्द्रीय कमिटी बैठकमा दुई उपाध्यक्ष दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि सारेका उनले अझै बाँकी उपाध्यक्षको टुंगो लगाउन सकस छ । तर प्रचण्डले सार्वजनिक नगर्दासम्म नाम चर्चामा रहेका नेताहरु समेत ढुक्क छैनन् । कुनै पनि बेला प्रचण्डको गोजीमा रहेको नाम परिवर्तन हुनसक्ने डरले नेताहरु थर्कमान छन् । अब शनिबार पनि प्रचण्डको गोजीबाट पदाधिकारीको नाम निस्कनेमा शंका कायमै छ ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु