global ime bank Long Banner Ad

गृहपृष्ठ लापरबाहीबाट विद्युतीय करेन्ट लागेर पाँच जनाको मृत्यु

लापरबाहीबाट विद्युतीय करेन्ट लागेर पाँच जनाको मृत्यु

लापरबाहीबाट विद्युतीय करेन्ट लागेर पाँच जनाको मृत्यु

तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पंखाबिना एकै क्षण बस्न पनि गाह्रो छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पंखा राखेर हावा लिन थाले । अचानक हातले पंखामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।

करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।

यसैगरी सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशंकर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिंचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खंग मण्डलको ज्यान गयो ।

लापरबाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुवातमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या १२ र घाइते हुनेको संख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए ।

ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरबाही र विद्युत् प्राधिकरणको पनि लापरबाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानुनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु