गृहपृष्ठ धारामा तीन महिनादेखि लेदो मिसिएको पानी
धारामा तीन महिनादेखि लेदो मिसिएको पानी
झापाको भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् ।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर-८ का तोया गड्तौलाले बताए । ‘लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्यौँ’, उनले भने, ‘तर सुनुवाइ भएको छैन ।’
कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । ‘फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन’, उनले भने ।
धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । उनले शुद्ध पानी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४/१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउने लगायतका प्रतिबद्धता संस्थानले गरेको छ ।
प्रकाशित समय : ०८:१९ बजे



















