global ime bank Long Banner Ad

गृहपृष्ठ बीउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

बीउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

बीउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज

स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बीउ प्रशोधन थालेको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बीउ समूहद्वारा उत्पादित बीउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो । गण्डकी प्रदेशभरिका एघार वटै जिल्लामा रहेका विभिन्न ७२ बीउ उत्पादन समूह, सहकारीमध्ये यहाँसम्म ल्याउन सम्भव हुने स्याङ्जासहित आसपासका समूहले उत्पादन गरेको बीउ प्रशोधन गरिने कृषि स्रोत केन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए।

बीउबिजन प्रयोगशाला पोखरामा बीउ उत्पादनका लागि सूचीकृत भएका व्यावसायिक उत्पादक समूह सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारी बालीअन्तर्गत धान, मकै, गहुँ, दलहन, तेलहनका बीउको प्रशोधन गरिने उनले बताए ।

‘गुणस्तरीय बीउका लागि फल पाकेदेखि भण्डारणसम्मका निश्चित् मापदण्ड पूरा गर्नुपर्ने भएकाले गुणस्तर जोगाइराख्नका लागि किसानलाई समस्या छ’, उनले भने, ‘किसानले उत्पादन गरेको बीउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादीद्वारा उपचार गर्ने र प्याकेजिङ गर्ने प्रविधि, उपकरण नहुने भएकाले किसानको सहजताका लागि प्रशोधन केन्द्र स्थापना गरेका हौँ ।’

भर्खरैमात्रै सञ्चालनमा आएको प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले प्रतिघण्टा डेढ टन बीउ प्रशोधन गर्छ । ‘उत्पादन भएको बस्तुलाई किसानले खेत बारीबाट सिधैँ प्रशोधन केन्द्रमा ल्याए हुन्छ’, उनले भने, ‘सफा गर्नेदेखि प्याकेजिङसम्मका सबै काम प्रशोधन केन्द्रमा जडान गरिएको मेसिनले गर्छ ।’

कृषि स्रोत केन्द्रले बीउ उत्पादक समूह सहकारीबाट उत्पादन हुने खाद्यान्न तथा तरकारी बालीको बीउको उत्पादन र मागको सन्तुलनको तथ्याकं बनाइएकाले बीउ उत्पादक र बिक्रेता तथा उपभोक्ताबीच समन्वयकारी भूमिका खेल्ने गरेको छ । प्रमाणित बीउ कार्यालयको नियमानुसार बिक्री गरेको खण्डमा बिक्री मूल्यको ५० प्रतिशत थप प्रोत्साहन अनुदान किसानलाई उपलब्ध गराइने उनले बताए।

बीउ उत्पादनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सक्रिय बीउ उत्पादक समूह, सहकारीललाई कार्यालयमार्फत पूर्वाधार निर्माण तथा क्षमता विस्तारका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु