nmb bank

गृहपृष्ठ ‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

‘टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।

ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका हुन् । ‘टानले उठाएको टिम्सको समस्यासम्बन्धी विषयलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तत्काल व्यवसायीसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ, अन्य विषयमा पनि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताए । ‘अहिले आरोहणमा नरहेका पाँच हजार ८०० मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तीनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।

उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढेको जानकारी दिए । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना महामारीबाट थलिएको पर्यटन पुनःउत्थानका लागि नीतिगत सुधार एवं योजनावद्ध कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय टिम्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसलाई समाधान गर्न सरकारले पहल लिन आग्रह गरे ।

टानको आज हुने निर्वाचनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । टानको नेतृत्वका लागि निलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारी प्यानलसहित प्रतिस्पर्धामा छन् । टानको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

टान निर्वाचनमा एक हजार दुई सय ५० मतदाता रहेका छन् ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु