गृहपृष्ठ थारु समुदायका परम्परागत गीत लोप हुने संघारमा
थारु समुदायका परम्परागत गीत लोप हुने संघारमा

संकलन र संरक्षणको अभावमा थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने संघारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने संघारमा पुगेका हुन् ।
सुखदुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान रहे पनि आधुनिक युवाले पुराना संस्कृति बोकेका गीत बिर्सदै जान थालेपछि थारु बुढापाका चिन्तित भएका छन् ।
युवापिँढी पश्चिमा संस्कृतिको सिको गर्दै आधुनिकतामै हराउन थालेपछि पुराना गीत हराउन थालेको थारु भागीराम चौधरीले बताए । सजना फागुनदेखि साउनसम्म, मैना कात्तिकमा धान काट्ने बेला, धमार ससुराल गएको बेला दुलहादुलहीले भाका हालेर गीत गाउने गरेको उनले बताए ।
आफनै मौलिकता बोकेका थारु समुदायका गीतको कागजी दस्तावेजसमेत नराखिँदा गीत संकलन र संरक्षण हुन नसकेको थारु अगुवा धनबहादुर चौधरी बताउछन् । उनका अनुसार समयसापेक्ष ढंगले परम्परागत गीतलाई ढाल्न नसकिँदा नै युवापिँढी अन्य समुदायको गीतसंगितप्रति आकर्षित हुन थालेका हुन ।
हालसम्म आधादर्जन बढी परम्परागत थारु गीत लोप भइसकेको र त्यतिकै संख्यामा रहेका गीत लोप हुने संघारमा पुगेका उनी बताउछन् ।
प्रकाशित समय : १३:११ बजे