गृहपृष्ठ लिङ्देनसँग ओलीको चुनावी गठजोड !

लिङ्देनसँग ओलीको चुनावी गठजोड !

लिङ्देनसँग ओलीको चुनावी गठजोड !

स्थानीय तहको निर्वाचनमा अरु दल एकतिर हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका थिए । अहिले मंसिर ४ को संसदीय निर्वाचनका लागि पाँच दलीय गठबन्धन बढेर ८ दलीय बन्दैछ । ओलीका अघि हात दिने दलहरु निकै कम छन् । यस्तो बेला विचार र एजेन्डा मिल्ने दलहरुसँग चुनावी गठबन्धन वा तालमेल गर्ने एमालेको रणनीति छ । तर फेरि ओलीको हात थाम्न राप्रपा अध्यक्ष लिङ्देन नै अघि सरेका छन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिरमा हुने आमनिर्वाचन तालमेलको विषयमा छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच शुक्रबार अपराह्न चुनावी तालमेलको विषयमा एक घण्टा छलफल भयो । दुवै नेताहरुबीच सत्तारुढ गठबन्धन निर्माण भइसकेको अवस्थामा एमाले र राप्रपाबीच ‘देशभक्त’ र ‘राष्ट्रवादी’ शक्ति एक भएर जाने विषयमा छलफल भएको हो ।

एमालेका अनुसार अहिले राप्रपासहित विभिन्न पक्षसँग छलफल भइरहेको छ । यसअघि पनि राप्रपा अध्यक्ष लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग तालमेलको विषयमा कम्तीमा २ पटक छलफल गरेका थिए ।

ओली र लिङ्देनबीच शुक्रबार एक घण्टा छलफल भएको थियो । आगामी चुनावको योजना निर्माण गर्नेसहित विषयमा निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारबाट सुरु हुँदैछ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग सम्भावित राष्ट्रवादी देशभक्त गठबन्धन निर्माण गर्न विषयमा छलफल भएको बताए ।

‘सत्तारुढ गठबन्धन बनिसकेको अवस्थामा प्रतिपक्षी दलहरुको बीचमा सहकार्य सम्भावनाको खोजीका लागि छलफल भएको हो’, श्रेष्ठले भने । तालमेलका लागि दुवै अध्यक्षको छलफल सकारात्मक देखिएका छन् ।

२०७४ सालको आमचुनावमा राप्रपाले कांग्रेससँग गठबन्धन गरे पनि झापामा भने एमाले र माओवादी केन्द्र तथा राप्रपाबीच गठबन्धन भएको थियो । झापाका ओली र लिङ्देनले चुनावी गठबन्धन गरेर एकले अर्कोलाई सघाएका थिए । राप्रपाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने लिङ्देन एकमात्रै सांसद हुन् । अध्यक्ष ‌ओलीले पनि झापा ५ बाट ठूलो मतान्तरसहित विजयी हासिल गरेका थिए ।

झापामै दुवै अध्यक्षलाई सहज जितका लागि एकलाई अर्कोको सहयोग चाहिने अवस्थामा रहेको छ ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु