global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनमा दुई लाख ६१ हजार बढी कर्मचारी खटाइने

निर्वाचनमा दुई लाख ६१ हजार बढी कर्मचारी खटाइने

निर्वाचनमा दुई लाख ६१ हजार बढी कर्मचारी खटाइने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन २ लाख ६१ हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटिनेछन् ।

तीन महिनाअघि भएको स्थानीय निर्वाचनमा १ लाख ९६ हजार जनशक्ति परिचालन गरिएको थियो ।

१ करोड ८२ लाख मतदाता सहभागी हुन सक्ने आउँदो निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आयोगले आकलन गरेको छ । निर्देशिकाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा ११ जना कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापनको योजना बनाइएको हो ।

प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५, सहयोगी एक, स्वंसेवक तीन जना खटिनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक स्वयंसेवक हुनेछन् । एउटा केन्द्रमा स्वयंसेवकसहित सरदर ११ जना खटिँदा निर्वाचन गराउन मात्रै २ लाख ४७ हजार ५ सय जना खटिनेछन् ।

यसमा मतदान अधिकृत २२ हजार ५ सय, सहायक मतदान अधिकृत २२ हजार ५ सय, सहायक कर्मचारी १ लाख १२ हजार ५ सय, सहयोगी कर्मचारी २२ हजार ५ सय, स्वयंसेवक ६७ हजार ५ सय हुनेछन् ।

यसबाहेक १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय हुनेछ । यी कार्यालयमा कम्तीमा १३ हजार १ सय ६५ कर्मचारी खटिनेछन् । त्यस्तै आयोग र ७७ वटा जिल्ला निर्वाचन कार्यालयमा गरी ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

मतदाता शिक्षामा खटिने र सुरक्षाकर्मीको संख्या अझै यकिन भएको छैन । आयोगले मतदाता शिक्षाका लागि ४० हजार स्वयंसेवक राख्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ । कारागार, सुरक्षा निकाय, वृद्धाश्रममा अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या पनि यकिन भएको छैन ।

निर्वाचन आयोगले संघ, प्रदेश, स्थानीय तह, सरकारी स्वामित्वमा रहेका कर्मचारी, विश्वविद्यालय, सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई निर्वाचनमा परिचालन गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन निर्देशिका आयोगले स्वीकृत गरेको हो ।

प्रकाशित समय : ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु