गृहपृष्ठ लुम्बिनीका मेयरले आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाए
लुम्बिनीका मेयरले आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाए
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएका छन् ।
नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव-इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् ।
मेयर सजरुद्धिन मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर यही साउन २ गते छोरा र ज्वाइँसहित ११ जना कर्मचारी नियुक्त गरेका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले आफ्ना साला विभाष त्रिपाठीलाई कम्प्युटर अपरेटर एवं प्राविधिक सहायक पाँचौं तहमा नियुक्ति दिलाएका थिए ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विधि प्रक्रिया मिचेर आफ्ना नातेदारलाई नियुक्त गरेको र प्रशासन सेवाका दुईजना अधिकृतलाई दरबन्दी नै नभएको वडा कार्यालयमा सरुवा गरेको भन्दै उपप्रमुखसहितका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले विरोध गरेका छन् ।
कार्यपालिकालाई जानकारी नै नदिई फर्जी कागजात तयार गरेको र कर्मचारी भर्नाको कुनै पनि विधि नअपनाइ कर्मचारी भर्ना गरेको भन्दै उपप्रमुख सहितका जनप्रतिनिधि अहिले आन्दोलित छन् ।
२३ सदस्यीय कार्यपालिकामा उपप्रमुख कल्पना हरिजनसहित १३ जना कार्यपालिका सदस्य निर्णय फिर्ताको मागसहित आन्दोलित भएका हुन् ।
प्रकाशित समय : १०:१७ बजे




















