global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा बाढी पस्यो, एक तलासम्म डुबान

काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा बाढी पस्यो, एक तलासम्म डुबान

काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा बाढी पस्यो, एक तलासम्म डुबान

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ ।

प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।

यस्तै भक्तपुर र आसपासका क्षेत्रमा पनि गएरातिको बर्षाले विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको हो । मनहरा खोलाको डुवान र कटानको कारण घर टहराहरुमा पानी पसेको छ ।

चाँगुनारायण नगरपालिका-४ मनहरा खोला निलोपुल नजिक हरी राईको बंगुर फर्मबाट खोलाले बंगुर बगाएको छ भने वडा नं १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ स्थित मनहरा खोला किनारको दिब्यश्वरी प्लानिङस्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएको छ । सोही नगरपालिकाको वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।

प्रकाशित समय : ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु