गृहपृष्ठ नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव
नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव
वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।
दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताए । उनी भन्छन, ‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन् ।’
मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराए । यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए ।
त्यसैगरी उनले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, बिक्री वितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए । प्रतिबन्धले प्रदूषण न्युनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले जानकारी दिए ।
यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उनले बताए । उनी भन्छन, ‘वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागी परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउन साथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ ।’
आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तर्राष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उनको भनाई थियो । उनी भन्छन्, ‘प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन् । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ ।’
मन्त्रालयका सचिव डा पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व बैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय : १६:३४ बजे




















