गृहपृष्ठ भारतको अनुदान सहयोगमा नुवाकोटको त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवन उद्घाटन
भारतको अनुदान सहयोगमा नुवाकोटको त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवन उद्घाटन
भारत सरकारको अनुदान सहयोगमा निर्मित नुवाकाेटकाे विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले नवनिर्मित विद्यालय भवनको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।
भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर केआई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १ हजार ३ सय ४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान विश्वास व्यक्त गरिएको भारतीय दूतावासले जनाएको छ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहिआएको सहकार्यलाई प्रतिविम्बित गर्ने बताइएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोटका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।
प्रकाशित समय : १०:३२ बजे




















