global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता

उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता

उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता

सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरेखोच डुम्रीबोटमा बाँध फुटेपछि सप्तरीको पूर्वी तथा उत्तरी भेगका दुई नगरपालिकामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेलका नगरपालिका-८ लाहुरेखोच डुम्रीबोटमा बाँध भत्किएर कटान गर्न थालेपछि सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।

सप्तकोसी नगरपालिकाको ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ । कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिम रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए ।

यस्तै सप्तकोसी नदीको छेउछाउका बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए ।

यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह तथा सुरक्षित स्थानमा बस्नका लागिसमेत आग्रह गरिएको उनले बताए । बाढी नियन्त्रण नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैँसी, बाख्रा नचराउन र माछा मार्न नजान सप्तरी प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ ।

त्यस्तै सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१३ स्थित गोबरगाढामा समेत बाढी आउन सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा एक टोलीले सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकामा बाढी आउन सक्ने ठाउँको निरीक्षण गरेको छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु