गृहपृष्ठ अमेरिकी विदेशमन्त्री दक्षिणी-पूर्वी एशियाको भ्रमणमा निस्कँदै
अमेरिकी विदेशमन्त्री दक्षिणी-पूर्वी एशियाको भ्रमणमा निस्कँदै
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेन आगामी साता केही दक्षिणपूर्वी एशियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् ।
कम्बोडिया, फिलिपिन्ससहितका एशियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कंगाे र रूवाण्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । दक्षिण-पूर्वी एशियाली देशहरुको संगठन (आसियान) का तीनवटा बेग्लाबेग्लै मन्त्रिस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिंकेन आगामी बुधबार कम्बोडियाको राजधानी न्हाेम्पेन्ह पुग्नेछन् । आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक कम्बोडिया हो ।
कम्बोडियामा उनले आसियानमा आवद्ध देशहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा छलफल गर्ने छन् । विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रिस्तरीय बैठकमा समीक्षा हुनेछ । अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन गत मे महिनामा वासिङटनमा भएको सहमतिअनुरूप ब्लिंकेनको यो भ्रमण हुन लागेको हो ।
कम्बोडियाबाट उनी फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेश मन्त्रीलाई भेट्ने कार्यक्रम छ । दुई एशियाली देशको भ्रमण पूरा गरी उनी यही साउन २२ गते अफ्रिकी मुलुकको भ्रमणमा जानेछन् । अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानव अधिकार, रुस-युक्रेन युद्धलगायत सामयिक मुद्दामा विचारविमर्श गर्नेछन् ।
प्रकाशित समय : १५:४२ बजे



















