गृहपृष्ठ बजेट प्रकरण : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै, फर्किन सक्छन् शर्मा
बजेट प्रकरण : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै, फर्किन सक्छन् शर्मा
पूर्वअर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न बनेको विशेष संसदीय समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा व्यापक विवाद भएपछि शर्माले राजीनामा दिएका थिए । सोही प्रकरण छानबिन गर्नका लागि गठित संसदीय समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ ।
समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने बताए । त्यसका लागि सभामुखसँग समय मागिएको उनको भनाइ छ ।
प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।
छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि गर्न भने सकेन ।
कल डिटेल परिक्षण गर्ने विषयमा छानबिनका लागि बनेको समितिमै मतभेद् देखिएपछि सफल हुन सकेन् । यो छानबिन अपूर्ण भएको भन्दै समितिमा रहेका एमाले सांसदहरुले असन्तुष्टि जनाइरहेका छन् । प्रर्याप्त प्रमाण जुटाउन नसकेपछि अर्थमन्त्रीको बागडोर सम्हाल्ने गरि पुनः शर्मा फर्किने सम्भावना निकै बलियो बनेको छ ।
प्रकाशित समय : ०८:२९ बजे

















