गृहपृष्ठ आइएमई मोटर्सले दियो विपद् सामूहिक उद्धार सवारीसाधन
आइएमई मोटर्सले दियो विपद् सामूहिक उद्धार सवारीसाधन

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री खाणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुन: हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपदबाट बच्न विपद् हुनु अघिबाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए ।
ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ । यी भेहिकलहरूमा मिनी-अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन् । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् ।
यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।
प्रकाशित समय : १२:५४ बजे