गृहपृष्ठ जलस्रोतको धनी देशले किन्यो २९ लाखको पानी
जलस्रोतको धनी देशले किन्यो २९ लाखको पानी
हामीले सानैदेखि ‘नेपाल जलस्रोतको धनी देश हो’ भनेर पढ्दै आयौं । तथ्यहरू फरक भए पनि नेपाललाई अझै पनि जलस्रोतमा विश्वका दोस्रो धनी देश लेख्न, पढ्न, पढाउन छाडिएको छैन ।
हिमालय श्रृङ्खलाबाट बग्ने, उत्पत्ति हुने भएकाले पिउने पानीमा भने नेपाल धनी नै हो, हालैमात्रै छिमेकी मुलुकहरूले हिमाली तालको पानी (ग्लेसियर वाटर)भनेर बोतलमा भरेर महँगो मूल्यमा पानी बेचिरहँदा नेपालले भने गत आर्थिक वर्ष २०७६/७७ मा विदेशबाट २९ लाख २३ हजार रुपैयाँ मूल्यबराबरको पानी आयात गरेको छ ।
यो पनि मानिस बिमारी भएपछि औषधि भनेर चलाइने स्लाइन/ग्लुकोज पानी होइन, विशुद्ध मिनरल वाटर र खानेपानी भनेरै आयात भएको हो । गत वर्ष विदेशबाट ३८ हजार ३८८ लिटर पानी आयात भएको छ । यद्यपि यो अघिल्लो वर्षभन्दा घटेको हो । आर्थिक वर्ष २०७५/७६ मा १ करोड ४७ लाख रूपैयाँबराबरको ४ लाख २६ हजार ६१९ लिटर पानी आयात भएको थियो ।
कोरोना भाइरस महामारीका कारण चैतदेखि अबलम्बन गरिएको लकडाउनका कारण देशको समग्र आयात व्यापार नै खस्किएको, विशेषगरी सबै पर्यटकस्तरीय होटलहरू बन्द भएका कारण पानीको आयात घटेको हो ।
पाँच तारे होटलहरूले पर्यटकका खपतका लागि पानी विदेशबाट आयात गर्छन भने केही ठूला खुद्रा व्यापार केन्द्रहरूले पनि विदेशीलाई लक्षित गरेर पानी आयात गर्छन् । मुख्य पर्यटकीय सिजनमा नै कोरोना महामारी फैलिइ विश्वभरिकै यात्रामा प्रतिबन्धमा लागेको असर आयातमा पनि देखिएको हो ।
भारत, फ्रान्स, बेलायत (यूके), संयुक्त अरब इमिरेट्स (यूएइ), इटाली, थाइल्यान्ड, इजरायलदेखि पोल्यान्डसम्मबाट पानी आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।
विभागका अनुसार गत आवमा सबैभन्दा बढी बेलायतबाट १४ हजार ९ सय लिटर, फ्रान्सबाट १२ हजार १८२ लिटर, भारतबाट ५ हजार लिटर, यूएइबाट ३९१ लिटर, थाइल्यान्डबाट ८६६ लिटर हुँदै जापानबाट २ लिटरसमेत पानी आयात भएको छ ।
गत आर्थिक वर्षमा नेपालबाट पनि ५ लाख ३५ हजार मूल्यबराबरको ६ हजार ६३१ लिटर पानी चीन, कतार, ओमन, यूएइ, इटाली, अमेरिकालगायतका देशमा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय : १६:४० बजे



















