गृहपृष्ठ दार्चुलाका प्रजिअ भन्छन्- भारतीय पक्षले हल्लाको भरमा पत्र पठायो
दार्चुलाका प्रजिअ भन्छन्- भारतीय पक्षले हल्लाको भरमा पत्र पठायो
सुदूरपश्चिम प्रदेशको दार्चुलासँग सिमाना जोडिएको कालापानी-लिम्पियाधुरा क्षेत्रमा नेपालीको आवत-जावत रोक्न भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । भारतको धारचुला उपजिल्ला अधिकारीले पठाएको पत्र प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।
प्रजिअ पोखरेलका अनुसार पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै ती क्षेत्रमा नेपालीहरुको ‘अवैध’ प्रवेश रोक्न आग्रह गरिएको छ । ‘विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउने हुँदा त्यसबाट मिडियाको ध्यान आकर्षित भई दुवै देशको प्रशासनलाई हैरान बनाउने’ भन्दै सो क्षत्रमा आवत-जावत रोक्न पत्र पठाइएको छ । पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।
दार्चुलाका प्रजिअ पोखरेलले विवादित क्षेत्रमा कसैले पनि आवत-जावत नगरेको बताए । ‘हामीले कालापानी लगायतका विवादित क्षेत्रमा आवश्यक पर्ने सामग्री हेलिकप्टरमार्फत पठाउने गरेका छौं,’ उनले भने, ‘आवत-जावत वर्षाका कारण त्यसै पनि बन्द भएको छ । भारतीय प्रशासनले हल्लाको भरमा पत्र पठाएको देखिन्छ ।’ उनले कालापानीनजिक छाङरूमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको बताए । हालै त्यहाँनजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
दार्चुला प्रशासनले ब्यास गाउँपालिका- १, छाङरू र टिंकरमा एक/एक सय क्विन्टल चामल पुर्याएको थियो । यस्तै छाङरूको गागा भन्ने स्थानमा झोलुंगे पुलका सामान पनि हेलिकप्टरमार्फत नै पुर्याइएको छ । यसैगरी माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।
भारतीय उपजिल्ला अधिकारीको पत्र :

प्रकाशित समय : २१:३३ बजे



















