गृहपृष्ठ निजी क्षेत्रको उत्साह : आयोजनाका लागि स्काभेटर ढुवानी गर्न हेलिकप्टर चार्टर
निजी क्षेत्रको उत्साह : आयोजनाका लागि स्काभेटर ढुवानी गर्न हेलिकप्टर चार्टर
लामाबगरबाट हेलिकप्टरमा झुण्ड्याएर स्काभेटरका पार्टपूर्जा तिब्बत सिमानानजिक पुर्याइएको छ । सडक निर्माणमा सरकारले ढिलासुस्ती गरेपछि निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूले सडक निर्माणकै लागि हेलिकप्टरमार्फत ३ वटा स्काभेटर आयोजनास्थलसम्म पुर्याएका हुन् ।
लप्ची खोलामा प्रस्ताव गरेको १६० मेगावाट क्षेमताको लप्ची खोला जलविद्युत आयोजनाका लागि एमभी दुगड ग्रुपबाट प्रवर्द्धन गरिएकाे नासा हाइड्रोपावर प्रालि २ वटा स्काभेटर थाङदिङ र एउटा थान्छेम्दुमा लगेको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल लामाबगरसम्म टेलरबाट ढुवानी गरेर पुर्याएको स्काभेटरलाई त्यहाँबाट पार्टपूर्जा खोलेर हेलिकप्टरबाट ढुवानी गरिएको हो । २ दिनभित्र सामान ढुवानी गरिसक्ने लक्ष्य राखे पनि मध्य वर्षाको प्रतिकुल मौसमका कारण सामान ढुवानी गर्न १५ दिनभन्दा बढी लागेको लप्ची खोला जलविद्युत आयोजनाका डेपुटी कन्ट्रक्सन म्यानेजर केबी बोहोराले जानकारी दिए ।
सानासाना पार्टपूर्जा साना माण्डेनका हेलिकप्टरको भित्रै राखेर ढुवानी गरिएको छ । साना पार्टपूर्जा लकडाउनभन्दा अघि नै ढुवानी गरेको थियो । इन्जिन, चेनजस्ता ठूला ढिका ढुवानीमा लकडाउनका कारण रोकिएको थियो । लकडाउन खुकुलो हुने समय कुर्दा वर्खा लागेकाले ढुवानीमा कठिनाइसमेत उत्पन्न भएको उनले बताए । रोकिएका पार्टपूर्जा लकडाउन सहज हुनासाथ केही दिनअघि मात्र श्री एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको बोहोराले जानकारी दिए । 
लामाबगरबाट सडक विभागले एक दशकदेखि सुरु गरेको सडक निर्माणको काम ३ किलोमिटर ट्रयाक मात्र खनिएको छ । माथिल्लो तामाकोसीको बाँधस्थल क्षेत्रमा कडा चट्टान र बाहिरबाट सडक निर्माण गर्न नसक्ने अवस्थाका कारण ९ सय मिटर सुरुङमार्गको समेत डिजाइन गरेको छ । त्यसलाई समेत सरकारले प्राथमिकतामा राखेको छ । सुरुङमार्ग नबन्दा निजी क्षेत्रका जलविद्युत कम्पनीले आफ्नै आयोजना क्षेत्रबाटै सडक निर्माण सुरु गर्न लागेका हुन् ।
डेपुटी म्यानेजर बोहोराले आयोजनाको आफ्नो क्षेत्रभित्र सडक निर्माणको काम सुरु गर्न स्काभेटर ढुवानी गरिएको बताए । पार्टपूर्जा ढुवानीपछि स्काभेटर निर्माता कम्पनी टाटा हिटाचीले आफ्ना मेकानिकहरु पठाएर जडानसमेत गरेको छ । अब वर्षात् सकिएपछि सडकको ट्रयाक खन्ने काम सुरु हुने उनले जानकारी दिए । तर लामाबगरबाट आयोजनास्थलसम्म पुग्न हिँड्ने बाटोसमेत कठिन छ । भीरको बाटो तल नदीमाथि भिरमा लहरा समाउँदै हिड्नु पर्ने अवस्था छ । वर्षामा नदी बढेकाले हिँड्ने बाटोसमेत बन्द छ । बाटो नहुँदा आयोजनाको कामका लागि बसेका मजदुरहरुका लागि खाद्यान्नसमेत हेलिमार्फत नै ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘राम्रो मौसम हुँदा लकडाउन भयो अनुमति पाइएन । लकडाउन सहज भएर अनुमति पाएपछि खराब मौसमले धेरै दिन कुर्नु परेको हो,’ उनले भने । पहाडको साँघुरो खोंच भएको र छिनछिनमा बदलिने मौसमका कारण उडान धेरै चुनौतीपूर्ण भएको श्री एयरका क्याप्टेन प्रकाश आचार्यले बताए । बर्षात्का मौसममा हिमाली क्षेत्रको उडान नै जोखिमपूर्ण हुने उनको भनाइ छ ।
लामाबगरदेखि जुम खोलासम्म पुग्न पैदल पनि कठिन छ । लामाबगरबाट तेल ढुवानीमा समेत समस्या पर्छ । हेलिकप्टर ढुवानी भए तापनि तेल बोकाएर लैजान पैदलमार्ग कठिन भएकाले समस्या हुने अवस्था छ । कठिन भूगोल र विकट क्षेत्रमा भएकाले ढुवानी खर्च पनि अत्यन्तै महँगो हुने म्यानेजर बोहोराले बताए ।
लामाबगरभन्दा माथि लप्ची र लुम्नाङ २ वटा बस्ती छ । लप्ची बर्षे बस्ती हो भने लुम्नाङ हिउँदमा जाडो छल्न झर्ने बस्ती हो । लामाबगरतिर आउने खोला बढेर बाटो बन्द भएकाले हेलिकप्टरमार्फत नै खाद्यान्न ढुवानी गरेर स्थानीय बचाउने गरिएको स्थानीय कर्मा हुसेर शेर्पाले बताए । त्यहाँको स्थानीयको पेशा चौरीपालन मात्र हो ।


प्रकाशित समय : ०१:४८ बजे



















