गृहपृष्ठ एनसेलद्वारा ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ २०७७ प्रदान
एनसेलद्वारा ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ २०७७ प्रदान
एनसेल प्राईभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ ।
कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार रकम २४ लाख रुपैयाँको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो । सो नगद रकम एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् ।
‘एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ । मेहनती र जेहनदार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेलप्रति सधै आभारी छौं,’ क्याम्पस प्रमुख पौडेलले भने, ‘कोभिड–१९ ले सिर्जना गरेको परिस्थितीले गर्दा औपचारिक कार्यक्रम सम्भव नभए पनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं ।’
पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही एक (१) लाख नगद हस्तान्तरण गर्ने गरिन्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।
विगत ७ वर्षदेखि प्रदान गरिदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका बारेमा आफ्नो अनुभव साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका आदरणीय प्राध्यापकहरु प्रति आभारी छौं । यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाई दिन चाहन्छौं ।
व्यवसायिक सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको अभिन्न अंग रहँदै आएको छ र यसै अन्तर्गत ईन्जिनियरिङ विधामा युवा प्रतिभाको प्रोत्साहन गर्ने एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई २०८० सालसम्म निरन्तरता दिन पाएकोमा हामी धेरै खुसी छौं । शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर हाम्रा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।’
यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमअन्तर्गत, एनसेलले प्रत्येक वर्ष ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ । गत वर्ष एनसेलले २०८० सालसम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्र्न ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।
यस अघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जनाविद्यार्थीलाई उत्कृष्टता सम्मान गरी ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।
एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीयवर्षको वार्षिक परीक्षामाप्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एकजना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।
यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातकतहकोे पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ठ ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रहेको छ ।
प्रकाशित समय : १४:१८ बजे



















