गृहपृष्ठ लकडाउन खुलेसँगै सञ्चालनमा आएका विद्यालय फेरि बन्द
लकडाउन खुलेसँगै सञ्चालनमा आएका विद्यालय फेरि बन्द
लकडाउन खुलेसँगै सञ्चालनमा आएका वीरेन्द्रनगरका विद्यालयहरु बन्द गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरी उक्त विद्यालयहरु बन्द गरेको हो ।
नेपाल सरकारको बन्दाबन्दीका कारण सञ्चालन नभएका विद्यालय लकडाउन खुलेपछि सञ्चालनमा आएका थिए । गत चैत्र ११ गतेदेखि सुुरु भएको लकडाउन साउन ६ गते रातिदेखि खुले पनि नेपाल सरकारबाट विद्यालयको पठनपाठन नियमित गर्ने सम्बन्धमा कुनै आधिकारिक निर्णय नभएको कारण विद्यालयहरु बन्द गरेको वीरेन्द्रनगर नगरपालिका शिक्षाशाखा प्रमुख ललित सिंहले बताए । उनका अनुसार वीरेन्द्रनगरका केही प्याब्सन अन्तर्गतका निजी विद्यालयहरु सञ्चालनमा आएका भए पनि सूचना जारी गरेपछि भने बन्द भएका छन् ।
नगरपालिकाले साउन १३ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ विपरित कक्षाहरु सञ्चालन भएको भन्दै सूचना जारी गरेको छ । उता निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष नैनसिंह खत्रीले नेपाल सरकारले ल्याएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ को परिच्छेद ५ मा रहेको व्यवस्थाअनुसार केही विद्यालयहरुले पठनपाठन सुरु गरेको बताए ।
‘सामाजिक दुरी कायम गरेरै पठनपाठन सुुरु गरिएको थियो,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाबाट आफैँ अनुगमनमा नगई प्रशासनसम्म कुरा पुगेछ ।’ उनले कोरोनाको त्रास सबैलाई भएको भन्दै कक्षा दशका विद्यार्थीहरुलाई केही विद्यालयहरुले सामाजिक दूरी कामय गरी अध्यापन गराएको बताए । उनका अनुसार साउन ११ गतेदेखि सुचारु भएका विद्यालयहरु १३ गतेदेखि बन्द गरिएको हो ।
विगत डेढ महिनादेखि दिनमा २० जना मात्रै विद्यार्थीलाई सामाजिक दुरी कायम गरी अध्यापन गराएको अमरज्योती नमूना माद्यमिक विद्यालयले समेत सूचना जारी भएयता पठनपाठन बन्द गरेको शिक्षक भुपेन्द्र बिसीले जानकारी दिए ।
प्रकाशित समय : १५:३६ बजे



















