गृहपृष्ठ ‘बकर इद सामूहिक एकता र भ्रातृत्वको पर्व’
‘बकर इद सामूहिक एकता र भ्रातृत्वको पर्व’
सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउनुु हुन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गरेका छन् । इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिदै उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् ।
बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गरेका छन् ।
यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढंगले पर्व मनाउने अवस्था नभएको तथ्य पेश गर्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले विषमताका बाबजुद यस पर्वमार्फत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिल्ने कामनासमेत गरेका छन् ।
प्रकाशित समय : १२:५२ बजे



















