गृहपृष्ठ गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फाइल तस्बिर ।
प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक संख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ ।
सांसद् झपटबहादुर रावलले गणपूरक संख्याको गणना गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई संख्या यकिन गर्न निर्देशन दिए । तीन मिनेटसम्म घण्टी बजाई संख्या यकिन गर्दा कुनै पनि प्रस्ताव पारित हुनका लागि सांसद्को कुल उपस्थिति संख्या एक चौथाइ अर्थात् ६९ हुनुपर्नेमा ६७ मात्रै रह्यो ।
यसअघि पनि त्यस्तै अवस्था आएकाले सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । तेस्रो पटक पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी दिए ।
त्यसअघि बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई पारित गरेको थियो । गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते दिउँसो २ बजे बस्ने छ ।
प्रकाशित समय : ०१:४९ बजे


















