काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्राप्त अधिकार संस्थागत गर्दै थप संघर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

8.51K
shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति संघर्ष गर्नुपर्नेमा जोड दिएकी छन् ।

 राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उनले लामो संघर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

मन्त्री रेग्मीले भनिन्, ‘संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न महिलाहरुले नै संघर्ष गर्नुपर्ने छ ।’ उनले महिलाहरुका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पारिन् । मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरुको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राखिन् ।

महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै घर–घरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । मन्त्री रेग्मीले भनिन्, ‘महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ ।’ महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिइन् ।